वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएपछि शल्यक्रिया सेवा अवरुद्ध

Newslaya Home

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएपछि शल्यक्रिया सेवा अवरुद्ध

मङ्गलबार २९, पुष २०७६

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट आइतबार रातिदेखि बिग्रिपछि बिरामीको शल्यक्रिया तत्कालका लागि बन्द गरिएको छ । प्रतिष्ठानका चार वटा अप्रेसन थिएटरमा जाने अक्सिजन पाइपलाइनको मुख्य पाइपलाइनबाटै अक्सिजन आपूर्ति नभएपछि बिरामीको अप्रेसन हुन नसकेको हो ।

प्रतिष्ठानमा माइनर र मेजरगरी दैनिक ७० देखि ८० वटा अप्रेसन हुने गरेको छ । तर यसपटक आफ्नै अक्सिजन प्लान्टमा एक्कासि खराबी आएपछि अप्रेसन गर्न थिएटरमा छिराइसकिएका बिरामीकोसमेत अप्रेसन रद्द गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ । आकस्मिक कक्षमा र सघन उपचार कक्षमा भने अक्सिजन सिलिन्डर राखिएका छन् ।

प्रतिष्ठानजस्तो दैनिक ३५ सय बिरामी उपचारका लागि आउने, हजार बढी शैयामा बिरामी भर्ना गरेर उपचार हुने स्वास्थ्य संस्थामा अक्सिजन प्लान्टकै कारण अप्रेसन रोकिएको प्रतिष्ठान स्थापनायताको यो पहिलो घटना हो ।

प्रतिष्ठानका एक चिकित्सकले अप्रेसन थिएटरमा बिरामीका लागि अनिवार्य आपुर्ति गर्नुपर्ने अक्सिन नै रोकिएलगतै अस्पताल प्रशासनले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा त्यो पनि गर्न नसकेको बताए ।

अप्रेसन थिएटर नै बन्द भएपछि बिरामी र उनीहरुका आफन्तले चिकित्सकहरुलाई बारम्बार फोन गरेर तनाव दिएको अर्का चिकित्सकले बताए । अक्सिजनले भरिएको सिलिन्डर राखेर पनि अप्रेसन गर्नुपर्ने विकल्प छ । तर प्रतिष्ठानले अक्सिजन सिलिन्डरसमेत पर्याप्त नराखेकाले मुख्य अप्रेसन थिएटरमा बिरामीको अप्रेसन गर्न नसकिएको चिकित्सकहरुले बताए ।