नेपाल आउन लागेका १२५ जना यात्रु अवुधावीमा अलपत्र, जिम्मेवारीबाट पन्छियो हिमालय एयरलाइन्स

Newslaya Home

नेपाल आउन लागेका १२५ जना यात्रु अवुधावीमा अलपत्र, जिम्मेवारीबाट पन्छियो हिमालय एयरलाइन्स

सोमबार २८, पुष २०७६

काठमाडौं । यति समुह प्रवद्धक रहेको हिमालय एयरलाइन्सले संयुक्त अरव इमिरेट (युएइ)को राजधानी अवुधावीबाट नेपाल आउन लागेका १२५ जना यात्रुलाई अलपत्र पारेको छ । नेपाल आउन लागेको एचनाइन ५६८ नम्बरको हिमालयको बिमानले यात्रुहरुलाई जानकारी नै नदिइ उडान रद्ध गरेपछि अबुधावी एयरपोर्टको टर्मिनल न १ मा पुगेका यात्रुहरु अलपत्र परेका हुन् ।

उडान रद्ध भएपछि अन्तराष्ट्रिय मान्यता अनुसार यात्रुहरुलाई खाने बस्ने ब्यवस्था गर्नुपर्छ । तर हिमालय एयरलाइन्स अलिकति पनि जिम्मेवार नदेखिएको एक पीडित यात्रुले बताए । उडान रद्ध गरी एयरलाइन्सका कर्मचारी सम्पर्क बिहिन भएपछि पीडित यात्रुहरु होटल खोज्दै भैतारिनु परेको थियो ।

एयरपोर्टमा नै पुगेपछि ट्राभल एजेन्सीले पठाएको इमेल हेरेर उडान रद्ध भएको धेरै यात्रुले थाहा पाएका थिए । ट्राभल्स एजेन्सीले रद्ध भएको जानकारी गराएको इमेल पाएपछि एयरलाइन्सको काउन्टर खोज्दै एयरपोर्ट भित्र भौतारिए पनि उनीहरुले एयरलाइन्सको काउन्टर तथा प्रतिनिधि भेटाउन सकेनन् । दुबई र काठमाडौ सम्पर्क गर्दा समेत एयरलाइन्सले रेस्पोन्स नगरेको पीडित यात्रुले बताए ।

कतिपय यात्रुले भने आफ्नो गुनासो युएईका राजदुत कृष्ण प्रसाद ढकाललाई सुनाएका थिए । अधिकांश यात्रु नेपाली कामदार हुने गरेका कारण एयरलाइन्सले पटक पटक यस्तै मनोमानी गर्दै आइरहेको छ ।

यसबारेमा हिमालय एयरलाइन्सको मुख्य कार्यालयको ०१४००४००० नम्बर भने फोन गर्दा स्वचालित रेकर्डेड जवाफ मात्र आउने तर कुनै पनि ब्यक्ति भने सम्पर्कमा आएनन् । एयरलाइन्सका काठमाडौ एयरपोर्टका कर्मचारी भागवत केसीले भने एयरलाइन्सको कारण नभइ ट्राभल्स एजेन्सीको कारण दुख पाएको हुन सक्ने बताए । उडान रद्ध हुने जानकारी समयमा नै ट्राभल्स एजेन्टहरुलाई गराए पनि उनीहरुले समयमा नै यात्रुलाई खवर नगर्दा यात्रुहरुलाई समस्या परेको हुन सक्ने उनले बताए ।

यद्पी आफू यसबारेमा बोल्ने आधिकारीक ब्यक्ति नभएको केसीले प्रष्टिकरण दिए । स्रोतका अनुसार नेपालबाट थोरै यात्रु भएका कारण एयरलाइन्सको ब्यवस्थापनले उडान रद्ध गरेको हो जसका कारण उताबाट नेपाल आउने यात्रुहरुले अनाहकमा दुख पाएका थिए ।