मन्त्री र कर्मचारीले स्पष्टीकरण दिनुपर्ने सांसदहरुको माग

Newslaya Home

मन्त्री र कर्मचारीले स्पष्टीकरण दिनुपर्ने सांसदहरुको माग

सोमबार २८, पुष २०७६

काठमाडौं । सरकारलाई दिइएको निर्देशनको पालना नगरिएकोमा मन्त्री र कर्मचारीहरुले स्पष्टीकरण दिनुपर्ने सांसदहरुले माग गरेका छन् ।

विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन पालना नभएको भन्दै सांसदहरुले स्पष्टीकरण माग गरेका हुन् ।

अनुगमन सम्बन्धमा छलफल गर्न सोमबार बोलाइएको बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि राष्ट्रियसभाका सांसदहरु आक्रोशित बनेका हुन् ।
अनुगमनलाई नियमति गर्न र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न सोमबार बोलाइएको बैठकमा दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगरेको बताए ।

सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न मिति दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताइन् ।

‘राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की ? भन्ने प्रश्न गर्दै सांसद महेश कुमार महराले धेरै निर्णयहरु भए पनि व्यवहारमा केही पुष्टि हुन नसकेको र सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको बताए ।

समितिको बैठकमा सहभागी हुन तीन दिन अगाडी नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको गनासो गर्दै समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि नटेर्ने प्रवृति हाबी भएको बताए ।