ट्रायल पास गराइदिन्छु भन्दै पैसा लिने एक व्यक्ति पक्राउ

Newslaya Home

ट्रायल पास गराइदिन्छु भन्दै पैसा लिने एक व्यक्ति पक्राउ

सोमबार २८, पुष २०७६

काठमाडौं । रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए ।

पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ ।