मोरङको पिकनिक स्पट – राजारानी

Newslaya Home

मोरङको पिकनिक स्पट – राजारानी

– भूमिका पाख्रिन
सोमबार २८, पुष २०७६

जाडोयाम अर्थात पिकनिक खाने याम । नेपाली समाजमा पुष/माघको महिनालाई वनभोज खाने महिनाको रुपमा लिने गरीन्छ । तथापी यस वर्ष वनभोज खान मात्र नभई घुमघामका लागी पनि विशेष छ । किनकी अंग्रेजी वर्ष २०२० लाई नेपाल सरकारले भ्रमण वर्षका रुपमा मनाइ रहेको छ ।

भ्रमण वर्ष सफल बनाउन प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढिरहेको छ । प्राकृतिक रुपमा विविधताले भरिपूर्ण प्रदेश १ मा घुम्न लायक थुप्रै ठाँउ छन् । त्यस मध्येको एक ठाँउ मोरङको लेटाङ नगरपालिका वडा नं. १ मा रहेको राजारानी कतिपयलाई जानकारी नहुन सक्छ । भौगोलिक रुपमा विकट भएता पनि प्राकृतिक रुपमा अत्यन्तै सुन्दर राजारानी मोरङ मै पनि उति परिचित हुन सकेको छैन ।

झट्ट सुन्दा आम मानिसले राजारानी भन्नाले धनकुटा स्थित राजारानी सम्झने गर्दछन् । यद्यपी लेटाङमा रहेको राजारानी प्रकृतिको अनुपम नमुना हो । लेटाङमा रहेको राजारानी पुग्न दुईवटा बाटो रहेका छन् । पूर्वपश्चिम राजमार्ग स्थित बेलबारीबाट लेटाङ बुधबारे हुँदै करीब ३० मिनेटको दुरीमा तथा लेटाङ बजारबाट करीब १५ मिनेटमा राजारानी पुग्न सकिन्छ । राजारानी पुग्न सार्वजनिक यातायातका साधन नचले पनि उक्त स्थानमा भाडाका गाडीहरु सञ्चालित छन् ।

भौगोलिक विकटताका कारण ठुला बसहरु पनि राजारानी पुग्न त सक्छन् तर भने जति सहज भने पक्कै छैन । यद्यपी साना गाडीहरु भने सहज तरीकाले राजारानी पुग्न सक्छन् । साविकको भोगटेनी गाविसमा पर्ने राजारानी हाल लेटाङको वडा नं. १ मा पर्दछ । राजारानी क्षेत्र पर्यटकीय दृष्टिकोणले मात्र नभई धार्मिक महत्वका दृष्टिकोणले पनि महत्वपूर्ण छ । राजारानीमा एक राजारानी मन्दिर र धिमाल जातीको कुल देवता रहने धिमाल मन्दिर रहेको छ । धिमाल जातीको उत्पति स्थलका रुपमा रहेको यस स्थानमा वैशाख २ गते अत्यन्तै ठुलो मेला लाग्ने गर्दछ ।

अधिकांश जनजाती समुदायको बसोबास रहेको राजारानीमा विशेष गरी मगर जातीको बाहुल्यता रहेको छ भने यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर छन् । त्यसैगरी पशुपालन पनि यहाका मानिसको मुख्य पेशा हो ।

प्रकृतिको अनुपम नमुना राजारानीको मुख्य विशेषता यहाँ रहेको राजा र रानी दुई पोखरी छन् । हाल राजारानी तालमा परिणत हुने क्रममा रहेको राजारानी पोखरीलाई संरक्षण गर्दै तालको संरचनामा ढाल्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिबाट ५८ लाख रुपैया बजेट समेत विनियोजन भएको थियो । पोखरीलाई व्यवस्थित गर्न, पोखरी आसपास चौतारो निर्माण लगायतका कार्य गर्न रकम छुटिएपछि राजारानीको स्वरुप फेरिएको छ ।

त्यसो त पूर्वपश्चिम राजमार्गबाट खासै टाढा नरहेको राजारानीले उति प्रचार पाउन नसक्नु आफैमा दुखद् छ । राजारानीको अर्को विशेषता भनेको यहाँ पाइने सुनाखरी हो । राजारानी पोखरीमा ४३ जातका सुनाखरी पाइन्छन् भने विभिन्न जंगली वनस्पतिहरु यहि पाइन्छन् ।

समुन्द्र सतहदेखि ५१० मिटर उचाईमा रहेको राजारानी पोखरीको पानीको मात्रामा करीब ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । राराजानी डाँडा सहित पोखरीको क्षेत्रफल भने ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसो त राजारानीमै बस्न चाहनेको लागी होम स्टेको समेत व्यवस्था गरिएको छ ।

तालमा परीणत हुन लागेको राजारानी पोखरीमा बोटिङको व्यवस्था गरिएको छ । १५० रुपैया तिरेर बोटिङको मजा लिन पनि राजारानी मुख्य गन्तब्य हुन सक्छ । पारिवारीक पिकनिक आउनेहरुले भने राजारानीमा पिकनिक खाए वापत २०० देखि ५०० रुपैया सम्म राजारानी संरक्षण समितिलाई बुझाउनुपर्ने हुन्छ । पानीको व्यवस्था, सार्वजनिक शौचालयहरुको व्यवस्था रहेको राजारानीमा पिकनिक खान आउने मात्र नभई घुम्न आउने पर्यटक तथा धार्मिक रुपमा भक्तजनहरुको आवतजावत त हुन्छ नै ।

यद्यपी यातायातको सुविधा भएको खण्डमा अझ पर्यटकको संख्या बढ्ने पक्का छ । राजारानीमा लेटाङ नगरका मात्रै हैन, मोरङ, झापा, सुनसरीदेखि लिएर छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत पिकनिक खान मात्र नभई घुम्नका लागी पनि राजारानी आउने गरेका छन् । यता भौगोलिक विकटता, बाटोको असहजताका कारणका नै राजारानीले भनेजति पर्यटक पाउन नसकेको लेटाङ नगर उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला बताउछिन् ।

राजारानी लेटाङ नगरको मुख्य पर्यटकीय स्थल भएकाले पनि पर्यटन प्रवद्र्धन गर्न, प्रचार प्रसार लगायत बाटो निर्माणका कार्यलाई चाडो सम्पन्न गर्न नगर प्रतिवद्ध रहेको उपप्रमुख पोखरेलको भनाई छ । यद्यपी बाटोको असहजता नै प्रमुख कारण हो । राजारानीको विशेषता प्राकृतिक रुपमा जति छ, हाल बन्ने क्रममा रहेको अन्तरधार्मिक शान्ति पार्कले राजारानीको गरिमा अझ बढाएको छ । प्रकृतिको सुन्दर टुक्रा राजारानीमा प्रदेश सरकारको लगानीमा अन्तरधार्मिक पार्क बन्ने भएपछि स्थानीयबासी समेत हर्षित छन् ।

सम्पूर्ण धर्मको प्रतिनिधित्व हुने गरी बन्न लागेको अन्तरधार्मिक पार्क निर्माणका लागी डीपीआर तयार भइसकेको वडाध्यक्ष विष्णु मगरको भनाई छ । प्रदेश सरकारले पार्क निर्माणमा पहिलो चरणका लागी भनेर २० लाख रुपैया विनियोजन गरी सकेको समेत वडाध्यक्ष मगर बताउछन् ।

पार्क निर्माण भए पश्चात राजारानीमा सुनमा सुगन्ध थपिने पक्का छ । यद्यपी बाटोलाई थप सुधारेर सवारीसाधनहरु सहजताका साथ चल्ने वातावरण सिर्जना गर्न सके लेटाङको राजारानी मोरङ कै मुख्य पिकनिक स्पट बन्नेमा दुईमत छैन ।

1 प्रतिकृयाहरू प्राप्त
  • Ganesh Dawadiलेख्नुहुन्छ
  • |
  • सोमबार २८, पुष २०७६
राजारानीको पर्यटन विकासका लागि राम्रो प्रचार योग्री समाचार