सामाजिक विकास मन्त्री घिमिरेद्वारा किशोरीलाई सेनिटरी प्याड वितरण

Newslaya Home

सामाजिक विकास मन्त्री घिमिरेद्वारा किशोरीलाई सेनिटरी प्याड वितरण

आइतबार २७, पुष २०७६

विराटनगर । आइतबार एक कार्यक्रमको आयोजना गर्दै मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लाई बालमैत्री घोषणा गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा थारु समुदायका अभिभावकको सहभागिता उल्लेख्य थियो ।

कार्यक्रममा मन्त्री घिमिरेले वडालाई बालमैत्री घोषणा गर्दै वीरेन्द्र माविका पाँच जना किशोरीलाई सेनिटरी प्याड वितरण गरे ।

बालविवाहमुक्त हुँदै ग्रामथानको यो वडा बालमैत्रीतर्फ अग्रसर बन्न सफल भएकोमा मन्त्री घिमिरेले बधाई व्यक्त गरे । उनले घोषणा मात्र ठूलो भएर यसलाई सार्थक बनाउनु नै चुनौतीपूर्ण भएको बताए । प्रदेश सरकारले बालबालिकालाई केन्द्रमा राखेर बजेट र विकासका कार्यक्रम बनाउन सुरु गरेको घिमिरेले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलको समेत उपस्थिति रहेको थियो ।

वडा नम्बर १ का वडाअध्यक्ष नमोनारायण माझीले वालविवाह मुक्त गरेपछि नै वडालाई बालमैत्री बनाउन आफूहरूले प्रयास थालेको बताए । २०७४ सालदेखि सुरु गरिएको अभियान सार्थक बनाउन नौवटा बालक्लब, विद्यालय क्लब, वडा बाल समितिले धेरै मिहिनेत गरेको वडाअध्यक्ष माझीले बताए ।

जिसस प्रमुख नरेश पोखरेलले अब ग्रामथानलाई नै बालमैत्री बनाउन प्रयास थालिनु पर्ने बताउँदै ग्रामथान १ लखन्तरी मोरङको पहिलो बालमैत्री वडा बन्न सफल भएको बताए । बालमैत्री वडा बन्न पूर्णखोप सुनिश्चित, बालबालिकाको पोषण, वालविवाहमुक्त लगायत धेरै बाल अधिकारसँग सम्बन्धित विषय पूरा गर्नुपर्ने पोखरेलले बताए ।

वडालाई बालमैत्री र बाल विवाहमुक्त बनाउन वल्र्डभिजनसँगको सहकार्यमा नारी विकास संघले तीन वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले बताइन् ।