प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने अभियान सुरु

Newslaya Home

प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने अभियान सुरु

आइतबार २७, पुष २०७६

विराटनगर । प्रदेश नं. १ लाई डिजिटल प्रदेश बनाउने अभियान शुरु गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले डिजिटल प्रदेश बनाउने अभियान शुरु गरिएको र यसमा शिक्षकहरुले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

विराटनगरमा आयोजना गरिएको राष्ट्रिय डिजिटल सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं.१ को एक सय वटा विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउने कार्य शुरु भईसकेको बताए ।

उनले यस आर्थिक वर्षमा थप एक सय सामुदायिक विद्यालयमा डिजिटल ल्याब स्थापना गरिने जानकारी दिए ।

प्रदेश नं.१ सरकारले सामुदायिक विद्यालयमा डिजिटल ल्याब स्थापना गर्न करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि डिजिटल प्रविधि मैत्री शैक्षिक सामग्री र उपकरणहरु उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

सूचना प्रविधि र डिजिटल क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै विद्यालय र विद्यार्थीलाई प्रविधि मैत्री बनाउदै लैजानुपर्ने उनीहरुको सुझाव थियो ।

नेपालभरिका प्रविधि मैत्री शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न डिजिटल शैक्षिक सामग्रीहरु बारे जानकारी गराइएको थियो ।