प्रचण्डको निर्णय अस्वीकार गर्ने उपसभामुख तुम्बाहाङफेको घोषणा

Newslaya Home

प्रचण्डको निर्णय अस्वीकार गर्ने उपसभामुख तुम्बाहाङफेको घोषणा

आइतबार २७, पुष २०७६

काठमाडौं । नेकपा सचिवालयले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरे पनि अस्वीकार गरिने भएको छ ।

सञ्चारमाध्यमसँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार राजीनामा नदिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको भएपनि आफू राजीनामा नदिने र संसद बैठक सञ्चालन गर्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भएका बेला प्रचण्ड नेतृत्वको बैठकमा राजीनामा माग्ने पार्टीको निर्णयलाई तुम्बाहाम्फेले ठाडो चुनौती दिएकी छन् ।

नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उपसभामुखले राजीनामा नदिई आफैं निर्वाचन प्रक्रिया अगाडि बढाए नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउने छैन ।