जिल्ला अदालतविरुद्ध कृष्णदास पनि अदालतमा

Newslaya Home

जिल्ला अदालतविरुद्ध कृष्णदास पनि अदालतमा

आइतबार २७, पुष २०७६

विराटनगर । बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका चतराधामका कृष्णदास भनिने कृष्णबहादुर गिरी जिल्लाको आदेश बेरित भएको दावी गर्दै उच्च अदालत पुगेका छन् । गिरी सरकारी वकिलको कार्यालयले दिएको निवेदन र जिल्लाको आदेश बेरित भएको दावी गर्दै उक्त आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका हुन् ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिताको २०७४ को दफा ७३ मा भएको व्यवस्थाअनुसार दुवै पक्षले उच्च अदालतमा निवेदन दिएका हुन् । उक्त संहितामा थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने कानूनी व्यवस्था छ ।

एउटै मुद्दाका वादी र प्रतिवादीले अलग–अलग माग राखेर निवेदन दर्ता गरेपछि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले मुद्दा पेशीमा राख्न आदेश दिएका छन् । सो मुद्दाको पेशी आगामी बिहीबारका लागि तोकिएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीसँग तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

एक २९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा उजुरी दिएपछि गत मंसिर पहिलो साता गिरी विराटनगरस्थित एक निजी अस्पतालमा भर्ना भएका थिए ।

मुटुसम्बन्धी बिरामी भएको भन्दै सघन उपचारकक्षमा उपचार गराइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । अनुसन्धान अवधिभर गिरी अस्पतालमै बसेका थिए । अदालतले धरौटीमा छाड्न आदेश दिएको केही दिनपछि उनी चतरा फर्किएका थिए ।