फागुन १ गतेदेखि प्रदेश एक सरकारले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने

Newslaya Home

फागुन १ गतेदेखि प्रदेश एक सरकारले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने

आइतबार २७, पुष २०७६

मोरङ । प्रदेश १ सरकारले स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत आउँदो फागुन १ गतेदेखि प्रदेशका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

त्यस्तै प्रदेशका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा पत्रुखानाको प्रयोगमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग रोक्ने र विद्यालयभित्र पत्रुखाना प्रयोगलाई प्रतिबन्ध लगाईने बताए ।

कानुन बनेको लामो समय भइसकेको अवस्थामा पनि ऐन कार्यान्वायन नभएकाले त्यसलाई फागुन १ गतेदेखि कडाईकासाथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेले बताए ।

स्वास्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत प्रदेश १ मा २० वर्ष उमेर समूहमाथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एक पटक परीक्षणपछि उनीहरुलाई पटक पटक परीक्षणका लागि प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ ।

त्यस्तै चिनी रोग र क्यान्सरको परिक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान पुर्याउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिए । विद्यालय संचालकहरुसँग भएको छलफलसँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको सुरुवात गर्ने तयारी भएको छ ।