आज तराईमा बाक्लो हुस्सु/कुहिरो, सतर्क रहन आग्रह

Newslaya Home

आज तराईमा बाक्लो हुस्सु/कुहिरो, सतर्क रहन आग्रह

आइतबार २७, पुष २०७६

काठमाडौं । आइतबार बिहान देशको तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । यस्तै पहाडी भेगमा भने मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । पूर्वी तराईका हुस्सु/कुहिरो दिउँसो १/२ पछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु/कुहिरो अपराह्नबाट केही पातलो भएर जाने तर पूर्ण रूपमा हट्ने सम्भावना नरहेको मौसमविद् बासीले बताइन् ।

जसले गर्दा तराई क्षेत्रमा अहिले चिसो अत्यधिक बढेको छ र त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- ‘तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले हुस्सु/कुहिरो लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ । तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।’

यता काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा भने आज अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ । आइतबार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ सेल्सियस डिग्री छ ।