देशको रक्षा गर्न दह्रो प्रयास गर्न पुर्वराजाको आग्रह

Newslaya Home

देशको रक्षा गर्न दह्रो प्रयास गर्न पुर्वराजाको आग्रह

शनिबार २६, पुष २०७६

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षाका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् ।

पृथ्वी जयन्तीका अवसरमा विज्ञप्ति जारी गर्दै शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने उल्लेख गर्दै पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् ।

जनतामा असन्तुष्टि बढेको संकेत गर्दै शाहले विज्ञप्तिमा भनेका छन्, ‘देशको सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनी उल्लेख गरेका शाहले मुलुकलाई विवादमा पार्ने पूयास भइरहेकोमा दलहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।