राँके–रवि–भेडेटार सडकको अनुगमन गर्दै मन्त्री नेम्बाङ

Newslaya Home

राँके–रवि–भेडेटार सडकको अनुगमन गर्दै मन्त्री नेम्बाङ

शनिबार २६, पुष २०७६

पाँचथर । राँकेदेखि भेडेटारसम्म १ सय १ किलोमिटर रहेको मेची राजमार्गको अनुगमन गरिएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले राँके(रवि)भेडेटार सडकखण्डको स्थलगत अनुगमन गरेका हुन् ।

गत वर्षको पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो सडकखण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएको वर्षदिन पुगेको छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भएतापनि उल्लेख्य रुपमा काम हुन सकेको छैन ।

आयोजना प्रमुख र ठेकेदार कम्पनीका प्रतिनिधिसँग निर्माणस्थलमै छलफल गरेका मन्त्री नेम्बाङले स्थानीय प्रतिनिधि, सरोरकारवाला ठेकेदारसँग अन्तरक्रिया गर्दै समयमै काम सकाउने वातावरण निर्माण गर्न पाँचथर, इलाम र धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

धनकुटाका संघीय सांसद राजेन्द्र राई, मोरङका संघीय सांसद घनश्याम खतिवडा, भौतिक पूर्वाधार सचिव देवेद्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, स्थानीय तहका पदाधिकारी, आयोजना प्रमुखलगायतको उपस्थितिमा अनुगमनमा गरिएको थियो ।

भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको उक्त परियोजनामा ८७ प्रतिशत भारतीय सरकारको ऋण सहयोग रहने छ भने १३ प्रतिशत सरकारको लगानीमा निर्माण हुन लागेको हो ।