धर्म संस्कृतिको विकासका लागि भौतिक पुर्वाधारमा जोड दिन आग्रह

Newslaya Home

धर्म संस्कृतिको विकासका लागि भौतिक पुर्वाधारमा जोड दिन आग्रह

शनिबार २६, पुष २०७६

इटहरी । धर्म संस्कृतिको संरक्षणका लागि भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्नेमा इटहरीको वडा नं. ७ का स्थानीयहरुले जोड दिएका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. ७ कार्यालयको सहयोगमा नेप्ली मिडिया प्रालिले गरेको धर्म संस्कृतिसम्बन्धि अन्तक्र्रिया कार्यक्रममा बोल्दै स्थानीयहरुले सामुदायिक भवन, पुल आदिको अभावमा कार्यक्रमहरु गर्न समस्या भएको गुनासो गरे । स्थानीय सुमंगल टोलविकास संस्थाका अध्यक्ष नेत्र गुरागाईँले वडामा बहुउद्देश्यीय भवनको अभावमा कार्यक्रमहरु गर्न समस्या रहेको बताए । उनले ज्येष्ठ नागरिकको लागि चौतारीको समेत टड्कारो आवश्यकता रहेकोमा जोड दिए । ‘यहाँका ज्येष्ठ नागरिकहरु कि त इटहरी कि त पचरुखी जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘यही त्यस्तो ठाउँ भए त समय बिताउने मेलो हुन्थ्यो ।’

स्थानीय महिलाहरुले खोलामा पुल नहुँदा वडा दुई भागमा विभाजन भएको गुनासो गरेका थिए । उनीहरुले स्थानीय मेला लाग्ने ठाउँ खुम्चिँदै गएकोले संरक्षण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

स्थानीय ग्रामथानका संरक्षक तथा नेपाली काँग्रेस वडासमिति अध्यक्ष काशीराम चौधरीले ग्रामथानहरुको विकासको लागि बजेट छुट्याउन आग्रह गरे ।

हिन्दुहरुको बाहुल्यता रहेपनि वडामा इसाई, बौद्ध, इस्लाम धर्म मान्नेहरुसमेत मिलेर बसेको बताउँदै वडासदस्य कर्णबहादुर पौडेल अहिलेसम्म कुनै धर्मले अर्को धर्मलाई हेँला गर्ने वा झगडा गर्ने अवस्था वडामा नरहेको बताउँछन् । उनले वडावासीका समस्या र माग जायज भएको बताउँदै आफूहरुले योजना बनाउने आश्वासन दिए ।

वडाले सो स्थानमा रहेका विभिन्न धार्मिक सम्पदाको विकासमा बजेट विनियोजन गरिरहेको वडासचिव भवानी धमला बताउँछन् । उनले सकारात्मक मागहरु आएकाले सो विषयमा आगामी बजेटमा कार्यक्रमलाई समावेश गरेर लाने आश्वासन दिए । ‘सकारात्मक मागहरु आएका छन्, ज्येष्ठ नागरिक चौतारीको लागि ठाउँ भयो भने हामी बजेट विनियोजन गर्छौं, अन्य विषयमा समेत हामी मिलेर काम गर्न सक्छौं,’ उनले भने ।

वडा कार्यालयले वडावासीको सक्रियता र योगदानको उच्च सम्मान गरेको र अनि विभिन्न निकाय तथा तहहरुमा वडाको धार्मिक स्थलहरुको विकासको लागि पहलसमेत गरिरहेको वडाध्यक्ष नरबहादुर राईले बताए ।
उनले पुलको लागि आफूले अनुगमन गरिरहेको बताए । यस्तै उनले वडावासीबाट माग भएअनुसार आवश्यक छलफल गरेर विभिन्न निकायसँग बजेट मागिरहेको बताए । उनले बहुउद्देश्यीय भवनको लागिसमेत वडा सकारात्मक रहेको बताए ।