एमएम कप : सुदुरपश्चिमसंग मलेसिया ८ विकेटले पराजित

Newslaya Home

एमएम कप : सुदुरपश्चिमसंग मलेसिया ८ विकेटले पराजित

शनिबार २६, पुष २०७६

इनरुवा । सुनसरीको इनरुवामा जारि दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न समुह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले मलेसिया ११ लाई ८ विकेटले पराजित गरेको छ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मलेसियाले दिएको ५० रनको लक्ष्य सुदुरपश्चिमले २ विकेट गुमाएर ७.२ ओभरमा पुरा गर्यो।

सुदुरपश्चिमको लागि लोकेश बम र खडक बोहराले अविजित समान १५ रन बनाए। गजेन्द्र बोहरा ११ तथा अरुण ऐरी ६ रन बनाएर आउट भए। मलेसियाको लागि अनवर रहमान र धीभेन्द्रन मोगनले समान १–१ विकेट लिए ।

टस जितेर ब्याटिंग रोजेको मलेसियाले कमजोर ब्याटिंग गर्दै २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो। मलेसियाको लागि भिरनदिप सिंहले सर्वाधिक २२ रन रन बनाए जुन क्रममा ६९ बलमा ३ चौका प्रहार गरे । भिरनदिप बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियालाई सानो योगफलमा समेट्न सुदुर पश्चिमका अफ स्पिनर शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए । मल्लले १० ओभरमा ३ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए । लामाले ९ ओभरमा ३ मेडन ओभर गर्दै २१ रन खर्चिए । बिक्रम ठगुन्नाले १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सुदुरपश्चिमका शेर मल्ल चुनिए ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने समुह ‘डी’ अन्तर्गतकै दोश्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। भोलिको खेल सुदुरपश्चिमले जितेको खण्डमा सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ।

प्रतियोगिता अन्तर्गत यस अघि समुह ‘ए’ , ‘बि’ र ‘सी’ का खेलहरु सम्पन्न भइसकेका छन् जसबाट त्रिभुवन आर्मी क्लब, प्रदेश(३ र नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन् ।