ग्यास गिजरमा नुहाउँदा २० वर्षीया युवतीको मृत्यु

Newslaya Home

ग्यास गिजरमा नुहाउँदा २० वर्षीया युवतीको मृत्यु

शनिबार २६, पुष २०७६

काठमाडौं । काठमाडौं–३१ मिलनचोक स्थित ग्यास गिजरमा नुहाँउदा एक युवतीको ज्यान गएको छ ।

झापाको बुद्ध–शान्ति गाउँपालिका–४ बाट प्लस–टु सकेर स्नातक गर्न काठमाडौंको रूमिज गर्ल्स होस्टलमा क्रान्ति तामाङ सँगै बस्दै आएकी २० वर्षीया स्वशिका लिम्बूको ग्यास गिजरमा नुहाउँदा निस्सासिएर मृत्यु भएको हो ।

बुधबार क्रान्ति तामाङ आफ्नो बाबा पदम तामाङसँग फोनमा कुरा गरिरहेको बेला नुहाउन भनेर बाथरूम छिरेकी स्वशिका डेढ घन्टा बित्दा पनि ननिस्केपछि होस्टलका दुई महिला कामदार र क्रान्तिसमेत भएर ढोका फोडेर भित्र छिर्दा ढलिरहेकी थिइन् ।

घटनाबारे जानकारी पाउन साथ तत्काल प्रहरीको टोलीसहित भएर स्वशिकालाई भेनस अस्पताल लगिएको थियो । उक्त अस्पतालले अन्यत्र लैजान भनेपछि बानेश्वरको सिभिल अस्पताल पुर्‍याउँदा स्वशिकालाई डाक्टरले मृत घोषणा गरेका थिए ।

बाथरूमको झ्याल पूर्ण रूपले बन्द भएको अवस्थामा नुहाउने क्रममै अक्सिजन कम भएर बेहोस भई युवतीको मृत्यु भएको महानगरीय बृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

स्वशिकाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिए पछि आमाबाबु रिपोर्ट कुरेर बसिरहेको जनाइएको छ ।