अदालतबाट सजाए तोकिएका मोरङका व्यक्ति १३ वर्षपछि पक्राउ

Newslaya Home

अदालतबाट सजाए तोकिएका मोरङका व्यक्ति १३ वर्षपछि पक्राउ

शुक्रबार २५, पुष २०७६

काठमाडौं । जिल्ला अदालत चितवनले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाएका एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।

२०६३ कात्तिक २६ गते कैद फैसला सुनाइएका मोरङ कानेपोखरी गाँउपालिकाका सवारी चालक ३८ वर्षीय भोलाबहादुर धिमाललाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

शुक्रबार धिमाललाई कानेपोखरीबाट काठमाडौं जाने क्रममा बा ५ ख ३६२८ नम्बरको माइक्रो चलाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले जानकारी दिए ।

२०६२ साल भदौ २५ मा धिमालले चलाएको बा १ ख ८९९४ नम्बर माइक्रो बस अनियन्त्रित हुँदा विपरीत दिशाबाट आएको ट्रकसँग चितवनको भण्डारामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंदेखि काँकडभिट्टासम्म माइक्रोबस चलाउने क्रममा समेत दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको थियो ।
प्रहरी र अध्यागमन विभागको आँखा छल्दै दुईपटक वैदेशिक रोजगारीमा पुगेका धिमाललाई प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेर सवारी ज्यान मुद्दा चलाएपनि निगरानी र अध्यागमन विभागको कमजोरीको फाईदा उठाउँदै पाँच वर्ष विदेशमा बस्न सफल भए ।

शुक्रबार बिहान पक्राउ गरि जिल्ला अदालत मोरङमा बुझाइएको धिमाललाई चितवन जिल्ला अदालतबाट दोषी करार भएपनि घर, ठेगाना र पक्राउ परेको जिल्ला एउटै भएका कारण कैद सजाय भुक्तानका लागि मोरङ कारागार पठाइएको अदालतका श्रेष्तेदार ईश्वरमणि ओझाले बताए ।