इटहरीमा पाँच सय सैयाको अस्पताल बनाउने विषयमा छलफल सुरु

Newslaya Home

इटहरीमा पाँच सय सैयाको अस्पताल बनाउने विषयमा छलफल सुरु

शुक्रबार २५, पुष २०७६

इटहरी । इटहरीमा पाँच सय सैयाको अस्पताल बनाउने विषयमा छलफल थालिएको छ । बुढी गंगा जमुना मुक्तिधाम इटहरीले सो विषयमा छलफल थालेको हो ।

संरक्षक गुरुजी श्री १०८ मोहन पृयाचार्यजी महाराजको संरक्षकत्वमा केही दिनअघि बसेको श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालको बैठकमा सो विषयमा विशेष छलफल गरिएको थियो । इटहरीमा मुक्तिधाम घाट तथा आकर्षक प्रणामी मन्दिर बनाएर उदाहरणीय कार्य गरीसकेको प्रणामी समुदायले अस्पतालको विषयमा छलफल अघि बढाएको हो ।

इटहरीमा निकै लामो समयदेखि अस्पतालको अभाव खट्किएको छ । प्रतिष्ठानले अस्पतालको सम्भाव्यता अध्ययनको लागी हेम घिमिरे र उद्दब रिजाल सदस्य रहेको दुई सदस्यीय अध्ययन समितीसमेत गठन गरेको छ । समितिले दुई महिनामा अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

केही दिनअघि इटहरीस्थित प्रणामी मन्दिरमा निर्माण गरिएको २०० जना अट्ने स्तरीय सेमिनार हल र मिटिङ हल उद्घाटनको अवसरमा घिमिरेले उक्त प्रस्ताव राखेका थिए । सो विषयमा पछि बैठकमा छलफल भएपछि समिति बनेको हो ।

‘हामी सधैं धार्मिक गतिविधि मात्र गरिरहेका हुन्छौं, केही फरक सामाजिक काम गरौं भन्नका लागि अस्पतालको योजना अघि सारेको हुँ,’ घिमिरेले भने ।

उनका अनुसार छलफल सुरु भएपछि विराटनगरमा एकै जनाले सात बिगाहा जग्गा र एक करोड रुपैया दिने प्रस्ताव गरेका छन् । यस्तै इटहरी, सुन्दरहरैंचाका मेयरले आफ्नो आफ्नो नगर क्षेत्रमा खाली जग्गा रहेको भन्दै सकारात्मक प्रस्ताव अघि सारेको घिमिरेले जानकारी दिए । ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्, तीमध्ये उपयुक्त र आवश्यक ठाउँमा अस्पताल सञ्चालन गर्ने सोँच छ,’ घिमिरेले भने, ‘सबैभन्दा आवश्यक भने इटहरी र आसपासमा छ ।’

पाँच वर्षभित्र १०० सैयाको अस्पताल निर्माण सम्पन्न गरि १० वर्षभित्रमा ५०० शैय्या पुर्याउने योजना रहेको घिमिरेले सुनाए । घिमिरेकै नेतृत्वमा इटहरीको बुढी खोला घाटलाई अहिले बुढी गंगा जमुना मुक्तिघाटको रुपमा अहिले व्यवस्थित गरिएको छ भने उनकै नेतृत्वमा प्रणामी मन्दिर कलात्मक र विशाल स्वरुपमा निर्माण गरिएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Lokendra Dhakal,लेख्नुहुन्छ
  • |
  • शुक्रबार २५, पुष २०७६
Good decision , congratulations to the proposal presenter.