अवैध खोला उत्खननको विरोध गर्ने युवकको हत्या, सडकमा टायर बाल्दै स्थानीय

Newslaya Home

अवैध खोला उत्खननको विरोध गर्ने युवकको हत्या, सडकमा टायर बाल्दै स्थानीय

शुक्रबार २५, पुष २०७६

जनकपुरधाम । अवैध ढंगले खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका(५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको छ ।

शुक्रबार बिहान छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । घटना पश्चात् टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार हत्या गरिएका युवक भारतमा ईन्जिनियरिङ पढ्दै थिए ।

दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननको विरोध गर्दै आएका थिए । सोही कारण क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन् ।

घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।