मेची पुलमा एप्रोच रोड बनाउन भारतले टेण्डर खोल्यो, नेपालतर्फ मुआबजा विवाद

Newslaya Home

मेची पुलमा एप्रोच रोड बनाउन भारतले टेण्डर खोल्यो, नेपालतर्फ मुआबजा विवाद

बिहीबार २४, पुष २०७६

भद्रपुर । भद्रपुरस्थित मेची नदीमा मेची पुल त बन्यो, तर पुल जोड्ने एप्रोच रोड नहुँदा सर्वसाधारण तथा व्यवशायीहरु समस्यामा परेका छन् ।

नेपाल–भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा उद्योगी–व्यवसायी चिन्तित बनेका हुन् । सडक निर्माण चाँडो सक्न विभिन्न निकायसँग हारगुहार गरिरहेका छन् ।

२०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गर्दै चाँडै पुल जोडने दुवैतर्फको रोड बन्‍ने आश्वासन जनता दिएका थिए। तर अझैसम्म प्रधानमन्त्रीको आश्वासन कार्यान्वयन भएको छैन ।

यो विषयमा विहारका मुख्यमन्त्री नीतिश कुमारलाई तीनबुँदे मागसहितको ज्ञापन पत्र नेपाल–भारत मैत्री संघले बुझाइसकेको छ ।

मागअनुसार भद्रपुर र गलगलियाका सांसद, राजनीतिक दल र उद्योगी व्यवसायीको पटक पटकको दबाबपछि भारततर्फ एप्रोच रोडको ठेक्का आव्हान भइसकेको छ । १७ करोड भारतीय रुपैयाँमा बन्‍ने सडकको ठेक्का आव्हान भइसकेको छ । तर पुल जोड्ने नेपालतर्फको सडक भने अनिश्चित छ ।

मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापाचोकसम्म कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौँले टेन्डर लगाएर सम्झौता गरेको झन्डै डेढ वर्ष बित्‍न लाग्दा पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन । सडकदेखि २१ मिटर जमिन स्थानीयले छाड्नुपर्ने अवस्था सृजना भएपछि सडक निर्माणमा विवाद देखिएको छ । २१ मिटर जमिन छाड्दा सरकारले मुआब्जा समेत नदिने भएपछि सडक आसपासका स्थानीयले आन्दोलित भएका छन्‌, यसले निर्माण कार्य नै अनिश्चित बनेको छ ।

मुआब्जा विवादले सडकको निर्माण कार्यमा ढिलासुस्ती भएको हुलाकी राजमार्ग क्षेत्रीय कार्यालय इटहरीका सब इन्जिनियर सुरेन्द्र यादवले जानकारी दिए। आउँदो असार मसान्तसम्म पनि सडक निर्माण कार्य सुरु नभए ठेक्का नै रद्द हुने उनको भनाई छ ।  ‘मुआब्जा विवादको विषयमा स्थानीय सरकारले पहल गर्नुपर्छ’, उनले भने, ‘अनि मात्र यसको विवाद समाधान भई निर्माण कार्यले गति लिन्छ ।’