उपमेयरले अविश्वास गरेको भन्दै इटहरीका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले दिए राजिनामा

Newslaya Home

उपमेयरले अविश्वास गरेको भन्दै इटहरीका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले दिए राजिनामा

शुक्रबार १८, पुष २०७६

इटहरी । उपमेयरले अविश्वास गरेको भन्दै इटहरी उपमहानगरपालिका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले राजिनामा दिएका छन् ।

शहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख रहेका दाहालले राजिनामा दिएका हुन् । उनी २०५४ सालदेखि तात्कालिन नगरपालिकामा इन्जिनियरको रुपमा उपमहानगरपालिकामा प्रवेश गरेका थिए ।

उपमेयरले अख्तियारमा मुद्धा हालिदिने धम्की दिएको उनको गुनासो छ ।

उनले दिएको राजिनामा पत्रमा लेखिएको छ, ‘कार्य सम्पादन गर्ने सिलसिलामा असन्तुष्टि प्रकट भई मैले गरेका कार्यहरुमा गहिरो अविश्वास, असन्तुष्टी प्रकट भई मैले गरेका कार्यहरुका विषयमा दर्जनौं पटक सम्झाउने, बुझाउने र प्रष्टिकरण दिने कोसिस गष्रेँ, तर उल्टै मलाई मुद्ध हाल्ने धम्की दिँदै आउनुभएकोमा विभिन्न सञ्चार माध्यमहरुमा र सामाजिक सञ्जालहरुमा मैले गरेका कार्यविरुद्ध अख्तियार दुईरुपयोग अनुसन्धानको कार्यालयमा उजुरी परेको विषयमा सोध्दा मैले मुद्धा हाल्नुअघि नै अरुले नै हालेछ भन्ने अत्यन्त आपत्तिजनक गैह्र जिम्मेवार र पदीय मर्यादाविपरीत जवाफ आएपछि मेरो यस कार्यालयमा रही काम गर्नसक्ने वातावरण नभएको हुँदा यो राजिनामा पेश गरेको छु ।’

दाहाल इटहरी उपमहानगरपालिकामा मेयर तथा उपमेयरबाट असन्तुष्ट भएर राजिनामा दिने दोस्रो वरिष्ठ कर्मचारी हुन् । यसअघि सोही कार्यालयमा कार्यरत् गायत्री लम्सालले मेयर द्वारिकलाल चौधरीदेखि असन्तुष्ट भएर राजिनामा दिएका थिए ।

उक्त राजिनामा स्वीकृत गर्ने नगर्ने विषयमा यही २० गते कार्यपालिकाको बैठकले निर्णय गर्ने छ ।

यता राजिनामा पत्रमा उल्लेख गरिएको आरोपबारे बोल्दै उपमेयर लक्ष्मी गौतमले राजिनामा दिएको बारे आफूलाइ थाहा भएको र सो विषयमा कार्यपालिका बैठकमा नै आफ्ना धारणा राख्ने जानकारी दिइन् ।