ओझेलमा किशे झरना

Newslaya Home

ओझेलमा किशे झरना

– भूमिका पाख्रिन
बिहीबार ०३, पुष २०७६

सरकारले अंग्रेजी वर्ष २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णयसँगै सामाजिक सञ्जालमा भिजिट नेपाल २०२० ह्यासट्याग हुने क्रम पनि तीब्र रुपमा बढेको छ । नेपालमा सर्वाधिक पर्यटन भित्राउन सफल सहर पोखरा होस् या मनाङ/मुस्ताङ । अथवा पूर्वकै सुन्दर नगरी इलाम किन नहोस्, यतिबेला पर्यटकको घुँइचो बढ्न थालेको छ । आन्तरिक र बाह्य दुबै खाले पर्यटकहरु भित्रिने क्रम सँग सँगै आ–आफ्ना क्षेत्रमा बढेका पर्यटकीय चाँपले छुट्टै रौनतकता थपेको छ ।

प्राकृतिक रुपमा अत्यन्तै सुन्दर देश नेपाल विविधताले भरिपूर्ण छ । त्यसो त कला, संस्कृति र परम्पराको अनुपम नमुना हाम्रो देश नेपाल जलस्रोतमा दक्षिण एसियाकै प्रथम धनी राष्ट्र पनि हो । नेपालको पूर्वी क्षेत्रको कुरा गर्ने हो भने पर्यटकीय गन्तब्यहरु उती नै छन् । कन्याम, श्री अन्तु, फिक्कल हुन् या भेडेटार, नमस्ते झरना, मुलघाट, हिले उत्तिकै परिचित छन् । सायद यी ठाँउ नपुगेका सायदै कोही हुन्छन् । यद्यपी कतिपय यस्ता पर्यटकीय स्थल पनि छन्, जो प्रचार प्रसारको कमी, यातायातको असुविधा लगायत विविध कारणले प्रचुर सम्भावना हुँदा हुँदै पनि ओझेलमा परेका छन् ।

उत्तरी मोरङमा पर्ने लेटाङ नगरपालिका मोरङको एक विकट नगरपालिका पनि हो । त्यसो त लेटाङ नगरपालिकालाई मोरङको कर्णाली भनेर समेत चिनिने गरीन्छ । देशकै प्रमुख राजमार्गबाट ८ किलोमिटर टाढा मात्रै रहेको लेटाङ नगरपालिकाको कतिपय वडाहरुमा यातायातको सुविधा पुग्न नसक्नु आफैमा दुखद् हो । यस अर्थमा पनि लेटाङ नगरपालिकालाई कर्णालीसँग दाँज्दा अनौठो मान्नु पर्दैन । बजारमा मात्रै स्रोत साधनको पहुँच पुगेता पनि नगर कै अन्य केही वडामा पूर्वाधारहरुको अभावमा अनेकौ सम्भावना हुँदा हुँदै पनि यहाँका सर्वसाधारणले कष्टकर जीवन निर्वाह गर्न बाध्य छन् ।

त्यसो त महेन्द्र राजमार्गबाट ८ किलोमिटर उत्तर पर्ने लेटाङ नगरपालिका भौगोलिक रुपमा विकट भएतापनि पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै सम्भावना बोकेको नगर हो । बजार इलाका सुगम र विभिन्न सुविधा युक्त सहर भएपनि अधिकाशं पहाडी क्षेत्र पर्दछन् । सरकारले अंग्रेजी वर्ष २०२० मा २० लाख पर्यटकलाई भित्राउने लक्ष्य लिएको समाचार हामीले पढिरहेका छौ । तर लेटाङको वडा नं. १ मा अवस्थित किशे झरना स्वयम् लेटाङ नगरमै पनि गुमनामको अवस्थामा रहेको छ भन्दा खासै फरक नपर्ला । नजिकको देउता हेला भने झै नगरबाटै उति संरक्षण नपाउनु आफैमा दुखद् छ । साविकको भोगटेनी गाविस वडा नं. ६ मा पर्ने किशे झरना, हाल भोगटेनी गाविस लेटाङ नगरपालिकामा समाहित भएसँगै लेटाङको वडा नं. १ मा पर्दछ । लेटाङ बजारबाट चारचक्के सवारी साधनमा २ घण्टाको यात्रा पश्चात किशेटार पुग्न सकिन्छ । जहाँ पुग्न लेटाङ बजारबाट २० किलोमिटर दुरी पार गर्नुपर्छ ।

हालसम्म सार्वजनिक यातायातका साधन पुग्न नसकेको उक्त स्थानमा भाडाका गाडीहरु सञ्चालनमा छन् । यस अर्थमा रिजर्भ गाडीहरुमात्रै किशेटार पुग्न सक्छन् । बाटोको अवस्था त्यति सहज भने पक्कै छैन । किशेटार पुगेपछि झरना पुग्न कम्तीमा २० मिनेट पैदल हिड्नु पर्छ । २० मिनेट समय र दुरीमा थोरै जस्तो लागेता पनि भौगोलिक विकटताका कारण सो २० मिनेट पैदल हिड्न निक्कै गाह्रो छ ।
यद्यपी बाटोमा हिड्दा चिसाङ खोला बगेको आवाज, चराचुरुङ्गीको मन्त्रमुग्ध बोली मात्र नभई अत्यन्तै सुन्दर डाँडापाखाहरु हेर्दा ती भौगोलिक विकटताका कारण दुरी पार गर्दा हुने समस्या गौण सावित हुन्छन् ।

त्यसो त लेटाङ बजारबाट किशेटारको यात्रामा निस्किदा बाटोमा धार्मिक स्थल राजारानी पनि आइपुग्छ । राजारानी आफैमा पनि इतिहास बोकेको तीर्थ स्थल हो । हाल तालमा परीणत हुने क्रममा रहेको राजारानीमा ४० भन्दा बढी प्रजातीका सुनाखरी पाइन्छ । यतिमात्र हैन, धिमाल जातीको उत्पति स्थलका रुपमा समेत चिनिने यस स्थानमा धार्मिक मनोकामनाका दृष्टिले पनि उतिकै परिचित छ । यद्यपी किशेटार पुग्न आफूसँग छुट्टै साधन नहुने हो भने राजारानी दर्शन गर्न असमर्थ भइनेछ । किनकी हामी राजारानी दर्शन गरीरहँदा किशे झरना पुग्न समय झन अपुग रहन्छ । अत्यन्तै सम्भावना बोकेको पर्यटकीयस्थल किशे झरना बास्तबमै ओझेलमा परेको छ ।

मोरङको लेटाङ नगरपालिका वडा नं. १ स्थित किशे झरना झण्डै ४० मिटर अग्लो छ । अधिकांश मगर जातीको बाहुल्यता रहेको यस ठाँउमा केही लिम्बू जातीको समेत बसोबास रहेको पाइन्छ । समग्रमा जनजातीको बसोबास रहेको यस ठाँउलाई किशेटार र झरनालाई किशे झरना भनिन्छ । । वडा सदस्य चन्चलाल मगरका अनुसार मगर भाषामा किशे भन्नाले मृग भन्ने बुझिन्छ । यस ठाँउमा मृग धेरै पाइने हुनाले यस ठाँउलाई किशेटार र झरनालाई किशे झरना भनेर नामाकरण गरेको मगरले बताए । त्यसो त यो झरना नजिकै सिंहदेवीको मन्दिर पनि छ । तथापी उचित संरक्षणको अभावमा मन्दिर पनि आझेलमा परेको मगरले गुनासो गरे । स्थानीयबासी मनकुमार मगरको पनि तर्क उति फरक छैन । अत्यन्तै सुन्दर ठाँउ भएर पनि प्रचारप्रसार नहुँदा यस ठाँउमा पर्यटक नभित्रिएको उनले बताए । झरनालाई अझ परिचित गराउन समिति नै गठन गरी अगाडि बढ्ने प्रक्रियामा रहेको उनले बताए ।

त्यसो त यस ठाउँमा यातायातको सुविधामात्र हैन, शिक्षा, स्वास्थ्य खानेपानी पनि उति सहज तरिकाले प्राप्त गर्न कठिन छ । भौगोलिक विकटताका कारण विद्यालय पुग्न पनि १ घण्टा लाग्छ, सिंगो साविकको भोटगेनी गाविस हाल लेटाङ नपा वडा नं. १ भएकोमा यस क्षेत्रमा ६ वटा सरकारी विद्यालय रहेको र हालसम्म यस वडामा निजि विद्यालयहरु खुल्न सकेका छैनन् । सामान्य रुघाखोकी होस् या ज्वरो आउदा मात्रै पनि वडा कै स्वास्थ चौकी पुग्न पनि १ घण्टा भन्दा बढि समय लाग्छ ।

कृषिमा निर्भर यस वडाका बासिन्दा कुचो खेती गर्छन् । गाइबस्तु पालन, बाख्रा पालन पनि यहाका मानिसको प्रमुख पेशा हो । यहाँका मानिसहरु भटमास, दाल लगायत मौसम अनुसारको सागसब्जी उब्जनी गरी बेचविखन गरी आय आर्जन गर्छन् । नगरले बजेट छुट्याउदा यस वडालाई प्राथमिकतामा राखेपनि भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले पनि यस क्षेत्रलाई बजेट अपुग हुनु स्वभाविक रहेको नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले बताइन् । प्रचार प्रसार अभावकै कारण किशे झरना ओझेलमा परेको स्वीकार्दै चाडै नै यस झरना सम्म यातायातको सुविधा पु¥याउन नगरले हाल तीब्र रुपमा काम गरिरहेको समेत पोखरेलले बताइन् ।

साथै नगरले ४ लाख बजेट छुट्याएको भएता पनि किशे झरना लेटाङको शान भएकाले पनि आगामी वर्ष अझ थप गर्दै झरनालाई प्रचारप्रसार गर्न नगर प्रतिवद्ध रहेको उनले बताइन् । कुराकानीकै क्रममा यस वडाका वडाअध्यक्ष विष्णु मगरको भनाई पनि उति फरक छैन । लेटाङ नगरपालिकाको वडा नं. १ विकट मात्र नभई यातायातको असुविधा नै झरना लगायत अन्य ठाँउहरु ओझेलमा पर्नुको मुख्य कारण रहेको वडाअध्यक्ष मगर बताउछन् । पक्कै पनि नगरले यस क्षेत्रको सम्भावना बुझेको नै छ – उनी थप्छन् । आफ्नो वडामा प्रचुर मात्रामा पर्यटन भित्राउने सम्भावना भएर पनि भौगोलिक विकटताका कारण पर्यटन भित्राउन नसकेको मगरको भनाई छ ।

यद्यपी विजुली बत्तीको प्रक्रिया अगाडि बढेको साथै हाल टावर निर्माणका क्रममा रहेकाले अब भने सञ्चारमा समेत सहज हुने उनले बताए ।

यद्यपी नगर, प्रदेशबाट यस झरना जाने बाटो निर्माणमा मुख्य प्राथमिकतामा राख्दै छिटो कामसम्पन्न गर्ने हो भने यसको सम्भावना ज्यादै रहेको कुरा नकार्न सकिदैन । पर्र्यटनको प्रमुख सम्भावना बोकेको किशे झरनालाई प्रदेश सरकारले पनि प्रत्यक्ष सहयोग गर्न सकेमा प्रदेश कै गहनाका रुपमा किशे झरना पर्यटकीय गन्तब्य गहनाका रुपमा परिचित हुनेमा दुई मत छैन ।