भारतको नागरिकता कानुनको विरोधमा दिल्लीमा प्रदर्शन, विश्वविद्यालयमा प्रहरी कारबाही

Newslaya Home

भारतको नागरिकता कानुनको विरोधमा दिल्लीमा प्रदर्शन, विश्वविद्यालयमा प्रहरी कारबाही

सोमबार ३०, मङि्सर २०७६

बिबिसि । भारतको राजधानी दिल्लीमा सयौँ विद्यार्थी र अभियानकर्मीहरूले प्रहरीले एउटा विश्वविद्यालयभित्र जबरजस्ती छिरेर धरपकड गरेको भन्दै रातभरि प्रदर्शन गरेका छन् ।

तीन छिमेकी देशबाट अवैध रूपमा आएका मुस्लिमबाहेक अन्य धार्मिक समुदायका आप्रवासीलाई आममाफी दिने विवादास्पद नागरिकता कानुनविरुद्ध आइतबार भएको विरोधप्रदर्शनको क्रममा प्रहरीले कारबाही गरेको थियो ।

प्रदर्शनकारीहरूले ढुङ्गाले हानेको तथा गाडीमा आगो ‍लगाइदिएकाले बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ ।

तर प्रहरीले कारबाही गरेको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थी एवं शिक्षक सङ्गठनले आफूहरूले हिंसात्मक प्रदर्शन नगरेको दाबी गरेका छन् ।

त्यहाँ प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज गरिएको थियो ।

बीबीसी संवाददाता सलमान रविका अनुसार विश्वविद्यालयका पदाधिकारीहरूले एक वक्तव्य जारी गर्दै अनुमतिविना नै प्रहरी क्याम्पसभित्र पसेको बताएका छन् ।

राजधानीका विभिन्न भागमा प्रहरी कारबाहीको विरोध गर्न थप प्रदर्शनकारीहरू भेला भइरहेका छन् ।

दिल्लीका विद्यार्थीसँग ऐक्यबद्धता जनाउन भारतका अन्य विश्वविद्यालयमा पनि विरोध कार्यक्रम आयोजना गरिएको छ ।