धरानमा युवाहरुलाई मिडिया उत्प्रेरणा तालिम

Newslaya Home

धरानमा युवाहरुलाई मिडिया उत्प्रेरणा तालिम

शनिबार २८, मङि्सर २०७६

धरान । दलित समुदायका युवाहरुलाई मिडिया क्षेत्रमा आकर्षित गराउने उद्देश्यले धरानमा एक दिने मिडिया उत्प्रेरणा तालिम सम्पन्न भएको छ ।

पिस मिडिया ग्रुपको आयोजना तथा धरान उपमहानगरपालिका–१२ को सहयोगमा शनिबार मिडिया उत्प्रेरणा तालिम भएको हो । लक्षित वर्ग अन्र्तगतको तालिममा वडा नं १२ का १५ जना युवाहरु सहभागी थिए । लक्षित वर्ग अन्र्तगतका दलित समुदायसँगै आदिबासी जनजाति युवायुवतीहरु पनि सहभागी भएको आयोजक ग्रुपका अध्यक्ष एवं पत्रकार दिनेश गजमेरले जानकारी दिए ।

पत्रकार गजमेरका अनुसार १२ नं वडा कार्यालयले लक्षित वर्गको लागि विनियोजित बजेटबाट उत्प्रेरणा तालिम गरिएको हो । ‘दलित समुदायका युवाहरुलाई मिडियाप्रति आकर्षित गराउन, उत्प्रेरणा जगाउन तालिम दिइएको हो, उनले भने, ‘मिडियामा दलित समुदायको प्रतिनिधित्व बढी भन्दा बढी हुनुपर्छ, र मात्र ती समुदायको आवाज समेटिन्छ भन्ने तालिमको उद्देश्य हो । त्यसैले मिडियाप्रति उत्प्रेरणा जगाउन तालिम दिइएको हो ।’

तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि एवं वडा नं १२ का अध्यक्ष टंक राईले अहिलेको समय मिडियाको युग भएकोले मिडिया क्षेत्रमा वडाका युवाहरुलाई उत्प्रेरित गराउन तालिम दिइएको बताए । उनले भने, ‘अहिले मिडियाको युग हो, हरेक कुरा मिडियाबाट नै थाह पाउछौं, मिडिया क्षेत्रमा युवाहरु लाग्दा व्यक्तिगतरुपमा फाइदा नै हुन्छ, भविष्यलाई पनि राम्रो हुन्छ । पेशाकोरुपमा पनि अपनाउन सकिन्छ ।’

तालिममा सहभागी सुरज श्रेष्ठले मिडिया क्षेत्रको बारेमा धेरै जानकारी पाएको बताउँदै राजनीतिक, सामाजिक परिवर्तनमा मिडियाको भुमिकाबारे पनि प्रष्ट भएको बताए । वडा १२ की दलित महिला सदस्य शान्ति खत्रीको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।