प्याजको भाउ घट्यो

Newslaya Home

प्याजको भाउ घट्यो

शनिबार २८, मङि्सर २०७६

काठमाडौं । केही दिनदेखि चिनियाँ प्याजले उपत्यकावासीको प्याजको माग धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएन थालेको हो ।

गत असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए । गैरकानुनी रूपमा नेपालमा प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले चीनबाट दैनिक ४०/४५ टन प्याज भित्रिन थालेको छ । चीनबाट भित्रिन थालेपछि प्याजको भाउ पनि केही सस्तो भएको छ ।

समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपियाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपियाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा पाँच सय प्रतिशतले महँगो भएको छ । समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने सङ्केत देखिएको बताए ।