तातोपानी भन्सारका हाकिमविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा दर्ता

Newslaya Home

तातोपानी भन्सारका हाकिमविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा दर्ता

शुक्रबार २७, मङि्सर २०७६

काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

बस्नेतले अकूत सम्पत्ति आर्जन गरी आफूसहित आफन्तका नाममा राखेको उजुरीका आधारमा अख्तियारले उनीमाथि छानबिन शुरु गरेको थियो ।

२०४५ सालमा लेखापालको रुपमा सरकारी सेवामा प्रवेश गरेका बस्नेतले त्यसयता (हालसम्मं) १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ ८२ पैसा मात्रै बैधानिक रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर, उनले आम्दानीभन्दा बढी १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा खर्च तथा बचत गरेको देखिएको छ ।

अख्तियारका अनुसार बस्नेतले विदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग व्इवसायी एवम् भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस तथा रिसवत लिएर ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ उठाएका देखिएको छ ।

उनले उक्त रकम संखुवासभाको खाँदबारी–१ बस्ने आफ्ना जेठान नबिनकुमार गौलीलाई उठाउन लगाएका पनि अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतको हकमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो तथा बिगोअनुसारको जरिवाना, २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

यस्तै, उनका जेठान नबिन कुमार गौलीको हकमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो तथा २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरिएको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

अख्तियारले कृष्णबहादुरकी श्रीमती सबिता गोली बस्नेत तथा नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।