२ सयभन्दा बढि म्यानपावर कम्पनी कालो सूचीमा

Newslaya Home

२ सयभन्दा बढि म्यानपावर कम्पनी कालो सूचीमा

बुधबार २५, मङि्सर २०७६

काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय ८ वटा म्यानपावर कम्पनीको काम रोक्का गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको छ ।

वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने, विदेशमा अलपत्र परेका श्रमिक समयमा उद्धार नगर्ने, विदेशी कामदार पठाउदाँ धेरै पैसा असुली गर्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरी कारवाहीको प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।

हाल विभागले कालोसूचीमा राखी काम रोक्का गरिएका म्यानपावर कम्पनीले ऐनअनुसार सबै प्रक्रिया पूरा गरे उनीहरुको रोक्का फुकुवा गर्ने वैदेशिक रोजगार ऐनमा कानूनी व्यवस्था भएको विभागले जनाएको छ ।

विभागले गत आर्थिक वर्षदेखि पीडितको उजुरीलाई आधार मानेर म्यानपावरको काम कारवाही रोक्का गर्ने गरेको विभागका प्रवक्ता भोला गुरागाँईले बताए ।

कामकारवाही रोक्का गरिएका म्यानपावरले रोक्का फुकुवा नगरेसम्म कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका काम गर्ने नपाउने ऐनमा व्यवस्था छ । ऐनमा व्यवस्था भएअनुसार कामकारवाही रोक्का गरिएका म्यानपावरले पूर्व र अन्तिम श्रम स्वीकृति निकाल्न पाउँदैनन् ।

कालोसूचिमा परेका मध्ये करिब ५० भन्दा धेरै म्यानपावर कम्पनी खारेज हुनसक्ने विभागले जनाएको छ । ठुला आर्थिक ठगी गर्ने, धेरै श्रमिक रोजगारीमा पठाएर विदेशमा अलपत्र पार्ने म्यानपावर खारेज हुनसक्ने विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा कामदारलाई समस्या पार्ने म्यानपावर कम्पनीका काम कारवाही रोक्का गरे कारवाही प्रक्रिया अगाडि बढाउने गरेको विभागका प्रवक्ता गुरागाईँले जानकारी दिए ।

विभागले धेरै संख्यामा कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको कामकारवाही पनि रोक्का गरेको छ ।