महिला कर्मचारीसँग बन्द कोठामा भेटिए वडा अध्यक्ष

Newslaya Home

महिला कर्मचारीसँग बन्द कोठामा भेटिए वडा अध्यक्ष

बुधबार २५, मङि्सर २०७६

पर्सा । महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् ।

गाउँपालिकाको वडा नं.३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले निर्घात कुटपीट गरेका हुन् ।

वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयको कोठाको ढोका खोल्दा वडाध्यक्ष कानु आक्रोशित हुँदै स्थानीयलाई गालीगलौज गर्न थालेपछि विवाद भएको थियो ।

कोठा खोलेको निहुँमा वडाध्यक्ष स्थानीय माथि गाली गलौज गर्दै खनिएपछि विवादले उग्ररुप लिएको थियो । यसै विषयलाई लिएर कानुको आचरण ठिक नभएको आरोप लगाउँदै कार्यालयमा जम्मा भएका स्थानीयले कुटपीट गरेका हुन् ।

घटनास्थलमा पुगेको प्रहरीमाथि पनि स्थानीय जाइलागेका थिए । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चौकीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिएका छन् ।