११ बुँदे घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न

Newslaya Home

११ बुँदे घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न

मङ्गलबार २४, मङि्सर २०७६

इटहरी । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ ।

इटहरी उपमहानगरको आयोजनामा तीन सय बढिको सहभागितामा भएको इटहरी सम्मेलनले एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको छ । गत वर्षभर भएका कार्यक्रमको समीक्षा गर्दै एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको हो ।

इटहरी क्षेत्रमा समानुपातिक, समावेशी प्रतिनिधित्व र महिला नेतृत्व विकासका लागि विशेष योजना बनाउने, समानकामको समान ज्याला दिलाउन सहकार्य गर्ने, सार्वजनिक निकायका भवन संरचना अपांगमैत्री बनाउन पहल गर्ने, कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा पत्रमा जनाइएको छ ।

यसैगरी महिलासँग जोडिएका अन्य भेदभाव र अपमान जस्ता विभेद, बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनिकरण गर्र्ने, नगरपालिकाले पुरयाउने सेवामा सिमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ । घोषणा पत्रमा गरिएका प्रतिवद्धता अनुसारको कार्य भोलीदेखि नै सुरु गरिने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

कार्यक्रमको उदघाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका हुन् । सम्वोधनका क्रममा मन्त्री घिमिरेले सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना बढेको बताए । मादक पदार्थ हिंसाको अर्को कारण रहेको मन्त्री घिमिरेले औल्याए । उनले देशमै प्रदेश नम्वर १ मा सबैभन्दा बढि मदिरा सेवन गर्ने गरेको तथ्यांक रहेको सुनाए । मन्त्री घिमिरेले हिंसा विरुद्धको अभियानलाई गाँउ वस्ति सम्म पूरयाएकोमा इटहरी उपमहानगरको प्रशंसा गरे ।

लैङ्गिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै संविधानसभाका सांसद रेवती रमण भण्डारीले महिला हिंसा विरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको बताए । कानुनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको बताए । प्रदेश सांसद लिलम बस्नेतले इटहरी लैगिंक हिंसामुक्त क्षेत्र बन्ने गरि परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा लैङ्गिक हिंसाको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरिन् । सबै वडाका १९ सय २२ जना सँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको उपप्रमुख गौतमले बताइन् ।