कामबाट निकालेपछि मारुती सिमेन्टका एक कामदारले गरिन् आत्महत्या

Newslaya Home

कामबाट निकालेपछि मारुती सिमेन्टका एक कामदारले गरिन् आत्महत्या

मङ्गलबार २४, मङि्सर २०७६

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ मा रहेको मारुती सिमेन्ट उद्योगले एक मजदुरलाई कामबाट निकालेपछि दुःखद घटना घटेको छ ।

उद्योगले निकालेपछि गोलबजार नगरपालिका–९ गोविन्दपुरकी अनितादेवी पासवानले मंगलबार नजिकैको सिसमको बोटमा पासो लागेर आत्महत्या गरेको अन्य मजदूरहरुले बताएका छन् ।

उनको आत्महत्यापछि आक्रोशित मजदूरहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत उद्योगको गेटमै उचित क्षतिपूर्तिको माग गर्दै चक्काजाम गरेका थिए भने प्रहरीले बल प्रयोग गरेर दुई घण्टापछि राजमार्ग खुलाएको थियो ।

उद्योगमा विगत १६÷१७ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आएकी पासवानलाई उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको थियो ।

आफूलाई अवकास दिइएको बारे समेत जानकारी नपाएकी पासवान मंगलबार बिहान काम गर्न जाँदा उनलाई प्रहरीको सहयोगमा अपमानजनक ढंगले उद्योगबाट निकालिएको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोद कुमार महतोले जानकारी दिए ।

व्यवस्थापनले उद्योगको हित विपरित कार्यगरेको भन्दै उनलाई अवकास दिएको बताइएको छ ।

उद्योगका मजदुरहरुले चिया, मिठा (सखर) बापत प्रत्यक दिन ५० रुपैयाँका दरले पाउँदै आएका थिए । व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको मजदुरहरुको आरोप छ । यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदुरहरुको आरोप छ । त्यहाँ कार्यरत करिव ४ सय मजदुरले कामकाज ठप्प पारेपछि उद्योग अहिले बन्द भएको जनाइएको छ ।

घटनापछि उद्योग व्यवस्थापनले मजुदरहरुलाई बार्ताको लागि बोलाएपनि उनीहरु सामूहिक रुपमा बार्ताको माग गर्दै आएको छ । यता उद्योग व्यवस्थापनले भने घटनापछि मजदुरहरुसँग बसेर वार्ताको प्रयास भइरहेको बताएको छ ।