सडक आयोजना भन्छ,‘कागजात लुकाएकै छैनौं, तर पत्रै लेखेर दिन मिल्दैन’

Newslaya Home

सडक आयोजना भन्छ,‘कागजात लुकाएकै छैनौं, तर पत्रै लेखेर दिन मिल्दैन’

मङ्गलबार २४, मङि्सर २०७६

इटहरी । ६ लेन सडक आयोजनाले ८२.५ फुट सडक खाली नगराइ निर्माण थालेको भन्दै इटहरीका युवाहरुले संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन् ।

सोअन्तर्गत मदन चुँडाल नेतृत्वको संघर्ष समितिले मंगलबार आयोजनाको कार्यालयमा आधा घण्टा धर्ना दिएको छ । समितिले रानी विराटनगर इटहरी धरान सडक आयोजना कार्यालयको अगाडी धर्ना दिएको हो ।

समान मापदण्डको सडक बनाउनुपर्ने समितिको माग छ । यसैगरी समितिकै दबाबपछि आयोजना कार्यालयसँग कागजात मागेको इटहरी उपमहानगरपालिकालाई कागजात नदिएकोमा समेत समिति आक्रोशित छ ।

उपमहानगरपालिकाले कागज माग्दै दोस्रो पटक पत्र काटेको छ । तर कार्यालयले न त जवाफ फर्काएको छ, न त कागजात नै दिएको छ ।

तर आयोजनाले औपचारिक पत्राचार गरेरै कागजात बुझाउन समस्या भएको जनाएको छ । इन्जिनियर गौतमकुमार देवका अनुसार हेर्न खोज्ने जो कोहीलाई कागजात उपलब्ध गराउन समस्या छैन । ‘तर पत्र नै लेखेर कागजात कसरी दिने भन्ने समस्या भएको छ,’ उनले भने, ‘यही विषयमा छलफल गर्न आयोजना प्रमुख काठमाडौ विभागमा जानुभएको छ ।’

सडक आयोजना कार्यालयले उपमहानगरपालिकाले काटेको पत्रको सम्बन्धमा सम्बन्धित विभागलाई जानकारी गराएको र सोही विषयमा छलफल गर्न कार्यालय प्रमुख काठमाडौ गएको जानकारी दिएको छ । ‘पत्र त आयो, तर हाम्रो पनि माथिल्लो तह छ, जानकारी गराउनु पर्यो,’ अख्तियारले मागेको समयमा कागजात दिन सकिने बताउँदै उनले भने, ‘लुकाएको पनि छैन, फोटोकपी पनि दिन सक्छौं, तर पत्रै लेखेर नगरपालिकालाई कागजात दिन हायर्कीले दिएन ।’