१३ औँ दक्षिण एशियाली खेलकुद : गौरिका सिंहले जितिन् चौथो स्वर्ण पदक

Newslaya Home

१३ औँ दक्षिण एशियाली खेलकुद : गौरिका सिंहले जितिन् चौथो स्वर्ण पदक

सोमबार २३, मङि्सर २०७६

बिबिसि । पौडीको १०० मिटर फ्रि–स्टाईलमा गौरिका सिंहले स्वर्ण पदक जितेर नेपालको खेलकुद इतिहासमा नयाँ कीर्तिमान बनाएकी छन् । यो १७ वर्षीया सिंहको १३ ‍औँ दक्षिण एशियाली खेलकुद सागमा चौथो स्वर्ण पदक हो ।

यो पदकसँगै उनी यो क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन् ।

गौरिकाको चौथो स्वर्ण पदक
सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा सिंहले १०० मिटर फ्रि–स्टाईल ५८.१३ सेकेन्डमा पूरा गरिन् ।

उनले भारतीय शिवाङ्गी शर्माले ०.०२ सेकेन्डले पछाडि पारिन् । यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४९ पुगेको छ ।

नेपालले १३औँ सागको बक्सिङमा सोमबार दुईवटा स्वर्ण पदक जितेको छ ।

भुपेन्द्र थापा मगरले भारतका मनिष कौशिकलाई ६४ केजी तौल समूहमा अङ्कका आधारमा हराउँदै नेपालको ४७ औँ स्वर्ण पदक जितेका हुन् ।

यसअघि महिलातर्फ ५४ केजी तौल समूहमा मिनु गुरुङले भारतकी शिक्षालाई फाइनलमा ५–० अङ्कले हराएर स्वर्ण पदक जितेकी हुन् ।

त्यस्तै सोमबार जुडोमा ७८ केजी मुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले फाइलनमा बङ्ग्लादेशकी फरिना खनोम पराजित गरेकी हुन् ।

तीन फाइनलमा भारतसँग पराजित
सोमबार नेपाल तीन खेलका फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा सीमित भयो ।

महिला फुटबलमा पोखरा रङ्गशालामा भएको खेलमा भारत २–० ले विजयी भयो।

भारतका लागि बाला देवीले पहिलो र दोस्रो हाफमा एक(एक गोल गरिन् ।

इतिहास रच्दै सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली महिला कबड्डी टोली पनि भारतसँग पराजित भएको छ ।

काठमाण्डूमा भएको फाइनलमा ५०–१३ ले पराजित भएको हो ।

त्यस्तै काठमाण्डूमै भएको थ्री बाई थ्री बास्केटबलमा नेपालको पुरुष टोली भारतसँग २०–१५ ले पराजित भयो ।

सागको पदक(तालिकामा भारत शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।