पाँचथरको हिले डाँडा, पर्यटकको प्रतिक्षामा

Newslaya Home

पाँचथरको हिले डाँडा, पर्यटकको प्रतिक्षामा

सोमबार २३, मङि्सर २०७६

पाँचथर । पाँचथरको मिक्लाजुङ–१ र २ मा पर्ने हिले डाँडाले जो कोहीको मन लोभ्याउने गरेको छ ।

मेची राजमार्गमा रहेको राँके बजारबाट करिब २० किमि टाढा रहेको यो डाँडा फाँटिलो चौर, केही तल निलो पोखरीका वरिपरी केही थुम्का बनेर उभिएको छ ।

कुम्भकर्ण र कञ्चनजंघा हिमालको दृष्य देखिने हिले डाँडा प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ ।

मिक्लाजुङ २ सप्तमी बजारको शिरमा रहेको हिले डाँडाबाट नजिकका छिमेकी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, संखुवासभा लगायतका धेरै जिल्लाहरु देख्न सकिन्छ । स्थानीय स्तरमा वनभोजको लागि चर्चित यो स्थान नजिक हावाबाट बिजुली निकाली प्रयोग गरिएको छ ।

नयाँ वर्ष मनाउन र विभिन्न चाडपर्वको बेलामा स्थानीयको भिड लाग्ने गरेको हिले डाँडाको स्थानीय क्षेत्रमा व्यापक चर्चा भए पनि बाहिर यसको चर्चा हुन नसकेको स्थानीय पबिन माखिले बताए ।

हिउँदमा साना ठूला जुनै सवारी साधन प्रयोग गरेर पुग्न सकिने हिले डाँडा नजिक सप्तमी बजार साथै रबि बजार लगायतका बजारहरु रहेकाले बस्नको लागि पनि उपयुक्त रहेको छ ।

पर्यटक पर्खाइमा हिले डाँडा