अवैध विदेशी च्यानल प्रसारणमा रोक लगाइने

Newslaya Home

अवैध विदेशी च्यानल प्रसारणमा रोक लगाइने

सोमबार २३, मङि्सर २०७६

काठमाडौं । अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण गर्ने केवल अपरेटरलाई कारवाही गरिने भएको छ ।

आइतबार अवैधरूपमा भारतीय च्यानल प्रसारण गर्ने डिभाइन स्ट्रीम नेटवर्क प्रालि (मेरो टिभी) लाई सूचना तथा प्रसारण विभागले अवैधानिक च्यानल बन्द गर्न पत्राचार गरेको हो ।

विभागले सोनी, जी र कर्लसलगायतका विदेशी च्यानलको आधिकारिक सिग्नल वितरक रियलटेक नेटवर्क प्रालि र डिजिटल सिस्टम प्रालि काठमाडौँसँग सम्झौता नगरी अवैधानिक माध्यम र साधन प्रयोग गरी विदेशी टेलिभिजन च्यानलका प्याकेज सञ्चालन गरेको पाइएकाले रोक लगाउने भएको छ ।

सरकारलाई तिर्नुपर्ने राजश्वसमेत चुहावट भएको, ग्राहकले निर्वाधरूपमा च्यानल हेर्न नपाउने, कहिले नचल्ने, कहिले चल्ने, बन्द हुने आदि समस्याले ग्राहकलाई पैसा तिरे पनि उक्त च्यानल हेर्न नपाउने भएको विभागको पत्रमा उल्लेख गरिएको छ ।

आफू बिरामी भएर अस्पतालमा रहेको भन्दै आफूहरुले कुनै पनि अवैध काम नगरेको कारवाहीका लागि पत्र काटिएको डिभाइन स्ट्रीम नेटवर्कका अध्यक्ष होम पाण्डेले बताएका छन् ।

गत फागुनदेखि नै सोनी पिक्सर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिष्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एशिया प्यासिफिकअन्तर्गत विभिन्न सःशुल्क च्यानलहरू अवैध डीटीएचमार्फत प्रसारण गरेको आरोप लागेको डिभाइन नेटवर्कले मेरो टिभीको नाममा च्यानल प्रसारण गरिरहेको छ ।

च्यानलको आधिकारिक कारोबार गर्ने संस्था अर्कै भए पनि मोबाइल एप्सको समेत प्रयोग गरी नेपालमा अवैध प्रसारण गरेको पाइएको छ ।
कूल ७२ विदेशी च्यानल त्यसरी प्रसारण भइरहेको छ । सरकारले अवैधरूपमा विदेशी च्यानल प्रसारण गर्नेलाई कानूनी कारवाही गर्ने चेतावनी पटकपटक दिँदै आएको छ ।