चीनमा आयोजित पोशाक प्रतियोगितामा नेपाल पुरस्कृत

Newslaya Home

चीनमा आयोजित पोशाक प्रतियोगितामा नेपाल पुरस्कृत

सोमबार २३, मङि्सर २०७६

काठमाडौं । चीनको पइचिङमा भएको पोशाक व्यवस्थापन साथै भेषभूषा प्रदर्शनीमा नेपाल पुरस्कृत भएको छ ।

आइतबार पइचिङमा आयोजित नवौं कूटनीतिज्ञ राष्ट्रिय पोशाक प्रतियोगितामा नेपालले भेषभूषा प्रदर्शनीमा तेस्रो पुरस्कारका साथै उत्कृष्ट व्यवस्थापन पुरस्कार पनि जितेको हो ।

१२ देशको सहभागिता रहेको उक्त प्रतियोगितामा यूक्रेन पहिलो, रूस दोस्रो र नेपाल तेस्रो भएको हो ।
प्रदर्शनका लागि आठ मिनेट समय पाएका सहभागी कूटनीतिज्ञ, विद्यार्थी तथा पेशाकर्मीहरू सबैले आआफ्नो देशको प्रतिनिधित्व गर्दै पहिरन, रीतिरिवाज र नृत्य प्रस्तुत गरेका थिए ।

दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यद्वारा संगीतबद्ध सय थरि बाजा एउटै तालको धुनमा पइचिङ नर्मल युनिभर्सिटीका ८ जना विद्यार्थीहरु नेपाली दूतावासका द्वितीय सचिव श्रुति कडरियाको नेतृत्वमा मञ्चमा प्रवेश गरेका थिए ।

विभिन्न जातीय पहिरनमा राष्ट्रिय झण्डासहित प्रवेश गरेका उनीहरूलाई दर्शकले तालीले स्वागत गरेका थिए ।
विद्यार्थीहरू सुरज क्षेत्री, निरोज बोगटी, भक्तबहादुर तामाङ, रोमी महर्जन, सदीक्षा न्यौपाने, करिश्मा महर्जन र श्रेया महर्जनले कुमारीको पहिरनसँगै नेपालको हिमाल, पहाड र तराईका जातीय पहिरनसँगै नृत्य प्रस्तुत गरेका थिए ।

पहिलो पुरस्कार जितेको यूक्रेनले क्रिसमससँग जोडेको संस्कृति प्रस्तुत गरेको थियो भने रूसी समूहको नृत्यले उपस्थित सबैको मन जितेको थियो ।
सहभागी देशका कूटनीतिज्ञको उपस्थितिमा भएको कार्यक्रममा नेपालको यो वर्षसहित तेस्रोपटक सहभागी भएको दूतावासले जनाएको छ।

कार्यक्रमको आरम्भमा मन्तव्य राख्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले भौगोलिक विविधताको देश नेपालमा १२५ वटा भाषा बोलिने र १ सयभन्दा धेरै जाति सौहार्दपूर्वक बस्दैआएको जानकारी गराउँदै देशविदेशका विभिन्न संस्कृतिलाई कदर र सम्मानका साथै त्यसमा समाहित सुन्दरतालाई अँगाल्ने यस्ता कार्यक्रमको आयोजना सह्रानीय भएको बताए ।