सबै परीक्षार्थी अनुत्तीर्ण भएपछि कामदार जापान लैजाने परीक्षामा नेपालको प्रश्न

Newslaya Home

सबै परीक्षार्थी अनुत्तीर्ण भएपछि कामदार जापान लैजाने परीक्षामा नेपालको प्रश्न

आइतबार २२, मङि्सर २०७६

बिबिसि । जापानमा नेपाली कामदार लैजान पहिलो पटक भएको परीक्षामा कुनै पनि नेपाली कामदार उत्तीर्ण नभएपछि नेपाल सरकारले परीक्षा प्रणालीमाथि नै प्रश्न उठाएको छ ।

आवेदन दिएकामध्ये चिट्ठाका आधारमा परीक्षामा सहभागी गराइँदा सक्षम कामदारले समेत परीक्षा दिन नपाएकाले पनि यस्तो नतिजा आएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

नर्सिङ केयरगिभरका लागि आवेदन दिएका १३ हजारमध्ये सामान्य भाषा परीक्षामा पाँच सय जनालाई सहभागी गराइएको थियो जसकारण नेपाल र जापान सरकारबीच नेपाली कामदार लैजाने समझदारी भएसँगै देखिएको उत्साह पहिलो परीक्षामा निराशामा परिणत भएको छ ।

नर्सिङ केयरगिभरका लागि कार्तिक महिनामा लिइएको भाषा र सीप परीक्षाको हालैको नतिजामा एकजना नेपालीले मात्रै भाषा परीक्षामा उत्तीर्ण भएको र सीप परीक्षामा कुनै पनि नेपाली उत्तीर्ण नभएको जापान फाउन्डेसनले जनाएको छ ।

यस्तो नतिजा आएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा प्रणालीमा सुधारको माग अगाडि सारेको छ ।

आवेदन दिएका सबैले परीक्षा दिन नपाउने व्यवस्था दुई देशबीच भएको समझदारीको मर्म अनुरूप नहुने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

‘अहिले जुन हिसाबले परीक्षार्थी छनोट भइरहेका छन् त्यसमा परीक्षामा उत्तीर्ण हुनसक्ने खाले व्यक्तिले भाग नै लिन नपाउने अवस्था हुनसक्ने भयो,’ मन्त्रालयका जापानको रोजगारसम्बन्धी मामिला हेर्ने उपसचिव दीपक ढकालले भने ।

‘जापानमा कामदार पठाउने विषयमा जुन ढङ्गले सहमति भएको छ त्यसको मर्म अनुरूप यो प्रणालीलाई सुधार गरेर सामूहिकरूपमा अघि बढ्नु पर्छ ।’

हालै भएको नर्सिङ केयरगिभरको परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए ।

जसमध्ये चिट्ठा प्रणालीबाट लिइएका एक हजारमध्ये पाँच सय जनालाई सामान्य भाषा परीक्षामा सहभागी गराइएको थियो ।

पहिलो चरणमा अन्तिम सीप परीक्षामा १५ र भाषा परीक्षामा १२ जनालाई मात्रै सहभागी गराइएको थियो। जसमध्ये भाषा परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् भने सीप परीक्षामा कोही पनि उत्तीर्ण हुन सकेनन् ।

जापानले पाँच वर्षमा ११ देशबाट साढे तीन लाख विदेशी कामदार आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको छ ।

नेपालसँग भएको समझदारी अनुसार कामदार लैजाने भनिएका १४ वटा क्षेत्रमा नर्सिङ केयरगिभर, कृषि, होटेल, उद्योग, सुरक्षा, सवारीसाधन मर्मत सम्भार, निर्माण आदि छन् ।