सुनसरीको रास तालमा बहुजातीय साँस्कृतिक मेला हुने

Newslaya Home

सुनसरीको रास तालमा बहुजातीय साँस्कृतिक मेला हुने

आइतबार २२, मङि्सर २०७६

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित रास ताल परिसरमा बहुजातीय साँस्कृतिक मेला लाग्ने भएको छ । मसिंर २३ गतेदेखि २६ गतेसम्म बहुजातिय साँस्कृतिक मेला लाग्ने भएको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क (रास ताल)मा बहुजातीय साँस्कृतिक मेला लाग्ने जानकारी दिएको छ । सुनसरी सामुदायिक बन क्षेत्र भित्रको ईमानसिंह चेम्जोङ पर्यटकीय साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबारदेखि शुरु हुने मेलामा आउदै गरेको उधौली पर्वलाई बिशेष रुपमा मनाउन २५ र २६ गते ८ जातको सँस्कृति झल्कने कार्यक्रम गरिने आयोजकको भनाई छ ।

मेलामा पश्चिमको डेउडा नाच, राउटे र चेपाङ जाति, पहाडका शेर्पा, लामा, राई, लिम्बु तराईको थारु, धिमाल, सन्थाल र खस ब्राम्हण्डलगायतका बहुजातीय नाच र सँस्कृति प्रर्दशन हुने ईमानसिंह चेम्जोङ पर्यटकीय साँस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष शशी राईले जानकारी दिएका छन् ।

२०६० सालदेखि प्रत्येक बर्षको उधौली र उभौली पर्वको अवसरमा रास तालमा साँस्कृतिक मेला भइरहेको पत्रकार सम्मेलनमा ईमानसिंह चेम्जोङ पर्यटकीय साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष राजेश राईले बताए ।

पर्यटन बर्ष २०२० लाई समेत लक्षित गरी नेपालमै पहिलोपटक बहुजातीय साँस्कृतिक मेला गर्न लागिएको भन्दै आयोजकले मेलामा करिब १० हजार बढीले अबलोकन गर्ने अपेक्षा गरेको छ ।

मेलामा जातीय सँस्कृति तथा भेषभुसाका बारेमा पनि मेला अवलोकनकर्ताहरुलाई जानकारी दिने कार्यक्रम रहेको र मेलालाई थप आकर्षित बनाउन २६ गते चर्चित गायिका मेलिना राईको समेत प्रस्तुति रहने जनाइएको छ ।

मेलालाई प्रदेश नम्बर १ का पर्यटनमन्त्रि जगदिश कुशियतले उद्घाटन गर्ने कार्यक्रम छ। ६१ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले पर्यटकीय स्थलको रुपमा चर्चित छ । बनभोज स्थलदेखि डुंगा सयरको लागि यो ताल प्रदेश १ कै उत्कृष्ठ गन्तव्य हो ।