विद्यार्थीको पढाई विथोल्ने कार्यक्रम गरेको भन्दै विरोध गर्ने विद्यार्थी नेताहरु प्रहरी नियन्त्रणमा

Newslaya Home

विद्यार्थीको पढाई विथोल्ने कार्यक्रम गरेको भन्दै विरोध गर्ने विद्यार्थी नेताहरु प्रहरी नियन्त्रणमा

आइतबार २२, मङि्सर २०७६

इटहरी । जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरु प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थी संगठनका नेताहरु किरण विष्ट, प्रविण दाहाल, सहदेव काफ्ले संगीत सन्तोषलगायतलाई नियन्त्रणमा लिइएको हो ।

क्याम्पसको जग्गामा विद्यार्थीको पठनपाठनलाई प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै विरोध जनाएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जनता क्याम्पसको मैदानमा आज क्रिश्चियनहरुको कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमले विद्यार्थीको पठन पाठनमा अवरोध गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए । विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै ‘क्याम्पस हातामा रहेको खेल मैदान यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । यस क्याम्पसमा विद्यार्थीको हक हित बाहिर गएर हुने कुनै पनि गतिविधिले हाम्रो अध्ययनमा अत्यन्त नराम्रो असर परेको’ भन्दै विरोध जनाएका छन् । विद्यार्थी सङ्गठनहरूको छलफलविना गरिएका निर्णयबाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने भन्दै चेतावनी दिएका विद्यार्थीहरुले उक्त कार्यक्रमस्थलमा गएर विरोध जनाएका थिए ।

सोही क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठका अनुसार मुख्यमन्त्री आउने कार्यक्रम अवरुद्ध पार्न खोजेकोले नियन्त्रणमा लिएको र छलफल गराएर छाडिदिने बताए ।