छाडा सुँगुर भेटेर मार्नेलाई पाँच सय इनाम

Newslaya Home

छाडा सुँगुर भेटेर मार्नेलाई पाँच सय इनाम

शुक्रबार २०, मङि्सर २०७६

राजविराज । सडकमा भेटिएका छाडा सुँगुर मार्नेलाई पाँच सय इनाम दिइने भएको छ ।

छाडा छोडिएका पशुचौपायाले सडक दुर्घटना निम्त्याउने भएको हुँदा राजविराज नगरपालिकाले छाडा पशु नियन्त्रणको नीति लागु गरेको हो ।

चौपायाले साइकल, मोटरसाइकल, रिक्साजस्ता सवारीसाधन पल्टाइदिने तथा सवारीसाधनले पनि पशुचौपायालाई ठक्कर दिएर घाइते बनाउने हुँदा सडक दुर्घटनामा वृद्धि हुने गरेको प्रहरी नायब निरीक्षक (सइ) नन्दकिशोर मण्डलले बताए ।

राजविराजमा साँढे तथा घरपालुवा गाई, गोरु, सुँगुर र बाख्रापाठाको आतंकमा वृद्धि भएको छ ।
माइकिङ गरेर पशु धनीलाई पटक–पटक सचेत गराउँदा पनि समस्या समाधान नभएपछि राजविराजका मूल सडकबाट एकैदिनमा २५ वटा गाईगोरु नियन्त्रणमा लिइएको हो ।

१ सय चौपाया अटाउने कान्जी हाउसमा नियन्त्रण रहेको पशुचौपाया जिम्मा लिन आए सामान्य जरिवाना गरेर जिम्मा लगाइने र नआए आठौं दिनमा लिलाम गरिने नगरपाकिलाले जनाएको छ ।

पहिलो दिन लिन नआए हरके दिन थप ५० रुपैयाँ र सातौं दिन १ हजार जरिवाना लाग्ने भएपनि सुँगर नियन्त्रणमा भने कडा नीति अपनाइएको छ ।

एउटा सुँगुर मारे बापत ५ सय रुपैयाँ प्रोत्साहन बापत उपलब्ध गराइने भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार यादवले जानकारी दिए ।
तर अन्य पशुचौपायालाई भने कान्जी हाउसमा राखिने भएको हो ।