सडक डिभिजनलाई इटहरी उपमहानगरको कडा चेतावनीसहितको पत्र

Newslaya Home

सडक डिभिजनलाई इटहरी उपमहानगरको कडा चेतावनीसहितको पत्र

बिहीबार १९, मङि्सर २०७६

इटहरी । इटहरीको टेंग्रा खोलाको पुल मर्मत गर्न इटहरी उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्र लेखेको छ । पत्र वेवास्ता गरे कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत इटहरी ४ र ६ को बिचमा रहेको जिर्ण टेंग्रा खोलाको पुल मर्मत गर्न मौखिक ध्यानाकर्षण गराउँदा पनि मर्मत नभएको पत्रमा उल्लेख छ । उपमेयर लक्ष्मी गौतमद्वारा हस्ताक्षरित पत्रमा पुलको मर्मत गरी आवागमनलाई सहज बनाउन भनिएकोछ ।

‘त्यस कार्यालयबाट मर्मत गर्न नसक्ने भए नसक्नुको कारणसमेत खुलाई इटहरी उपमहानगरपालिकालाई मर्मत गर्ने लिखित अनुमती प्रदान गरियोस् भन्ने तथ्य गम्भीरतापूर्वक ध्यानाकर्षण गराइन्छ,’ पत्रमा अगाडी भनिएको छ, ‘यस कार्यालयमा लेखिएको यो पत्रप्रति बेवास्ता गरीएमा स्थानीय उपमहानगरपालिकाको तर्फबाट गम्भीर कदम उठाउन बाध्य हुने व्यहोरासमेत जानकारी गराइएकोछ ।’

उक्त पुल मर्मत नहुँदा खाल्डै खाल्डा परेर सवारी आवागमनमासमेत अवरोध उत्पन्न भइरहेको छ ।