जलवायु परिवर्तनको विषयमा सचेतना जगाउन पर्वतारोही, पुर्वमन्त्रीदेखि विद्यार्थीहरुसम्म मौन ब्रतमा

Newslaya Home

जलवायु परिवर्तनको विषयमा सचेतना जगाउन पर्वतारोही, पुर्वमन्त्रीदेखि विद्यार्थीहरुसम्म मौन ब्रतमा

बिहीबार १९, मङि्सर २०७६

इटहरी । इटहरीका युवाहरु १२ घण्टाको लागि मौन ब्रत बसेका छन् । जलवायु परिवर्तनको विषयमा विश्वलाई सन्देश दिन इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा उनीहरु मौन बसेका हुन् ।

पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी, सगरमाथा आरोही मदन चुँडाल र शिव डाँगीलगायत ६० जना युवाहरु ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको कार्यक्रममा मौन बसेका हुन् ।

नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दामा सगरमाथाको फेदी कालापत्थरमा बैठक बसेको १० वर्ष पुरा भएको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेश कार्कीले जानकारी दिएका छन् । बिहान ६ बजेबाट सुरु भएको मौन ब्रत साँझ ६ बजेसम्म हुने आयोजकले जानकारी दिएका छन् ।

मौनब्रत सुरु गर्नुअघि इटहरीको सङ्गीत चौकबाट तालतलैयासम्म ‘अपांगमैत्री इको रेस’ समेत गरिएको थियो । पैदलयात्रामा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बालगायतको उपस्थिती थियो । कार्यक्रममा सहभागि अपांगता भएका युवाहरुलाई उपमेयर लक्ष्मी गौतमले ह्वील चेयरमा डोर्याएकी थिइन् ।

२०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाइमा कालापत्थर बैठक गरेको थियो । नेपालले मन्त्रीपरिषद् बैठक गरेको एक दशकपछि पुनः त्यी मुद्दा सम्झाउन मौन ब्रत कार्यक्रम गरिएको जनाइएको छ ।