विराटनगर जुट मिल्समा राजपाका नेता झाले गरे भ्रष्टाचार

Newslaya Home

विराटनगर जुट मिल्समा राजपाका नेता झाले गरे भ्रष्टाचार

बुधबार १८, मङि्सर २०७६

काठमाडौ । विराटनगर जुट मिलको जग्गा दुरुपयोगमा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता अनिलकुमार झा मुछिएका छन् ।

उनको पनि संलग्नता पाइएपछि झाले मन्त्रीको हैसियतमा क्षेत्राधिकार बाहिर गएर जुट मिललाई घाटा पुर्‍याउने प्रयोजनका साथमा निर्णय गरेको ठहर गरेको छ ।

उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा गठन भएको समितिले उद्योग मन्त्रालयमा बुझाएको प्रतिवेदनमा बदनियत राखेर मन्त्री झाले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको उल्लेख छ । न्यायीक आयोगले तत्कालीन उद्योगमन्त्री झामाथि भ्रष्टाचार निवारण ऐनअनुसार अनुसन्धान गरि मुद्दा चलाउनसमेत सिफारिस गरेको छ।

मन्त्री झाले जुट मिललाई लेखेको त्यो बेलाको पत्रमा भनिएको थियो, ‘विराटनगर जुट मिलको हाताभित्र निजी स्वामित्वको जग्गामा निर्मित संरचनाको मुल्यांकन र सोको मुआब्जा निर्धारण गराई जग्गाधनीबाट लिएर ती घर टहराले चर्चेको जग्गासमेत जग्गाधनीलाई फिर्ता दिन अविलम्ब कारबाही टुङ्गाई मन्त्रालयलाई जानकारी दिनु ।’

आयोगले मिल सञ्चालनमा भईरहेको विवादको आँडमा जग्गा अतिक्रमणको चपेटामा परेको प्रतिवेदनमा उल्लेख गरेको छ । विराटनगर जुट मिल्सको पुर्वतर्फ सडकभन्दा पुर्व रहेको साविक विराटनगर १५ हाल १९ को कित्ता नम्वर ४० जग्गा विघा ४–१७–१० र कि न ४६ को जग्गा विघा १–१३–५ अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

हाल बन्द रहेको जुट मिलको शेयर किर्ते र घोटाला प्रकरणमा छानबीन गर्न सरकारले २०७५ चैत ११ गते उच्चस्तरीय न्यायीक आयोग गठन गरेको थियो। समितिले अध्ययन प्रतिवेदन मन्त्री मातृका यादवलाइ वुझाएको थियो । मन्त्री यादव सरकारबाट बाहिरिने निश्चित भएपछि प्रतिवेदन मन्त्रालयको दराजमा थन्काइएको छ । नयाँ उद्योग मन्त्रीको रुपमा लेखराज भट्ट आएका छन् ।