प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुने तयारीमा

Newslaya Home

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुने तयारीमा

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । एपेन्डिसाईटिस्को शल्यक्रिया गरेर अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिस्चार्ज गर्न चिकित्सकहरुलाई आग्रह गरेका छन्।

शल्यक्रिया गर्दाको पेटको घाउ निको भैनसकेको, रगतमा अक्सिजन र प्लेट्लेट्सको मात्र कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न नमिल्ने भएपनि चिकित्सकहरुले बालुवाटारमै २४ सै घण्टा चिकित्सकको निगरानीमा राख्ने गरी डिस्चार्ज गराउने तयारी गरेका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार बुधबार (आज) साँझसम्ममा प्रधानमन्त्रीलाई मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गर्ने तयारी छ।

प्रधानमन्त्रीको नियमिति डायलासिस गर्नुपर्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै आईसीयू सरहको सुविधा सहितको कक्ष निर्माण गरिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवासकै माथिल्लो तलाको एक कोठामा सम्पूर्ण सुविधा सहित प्रधानमन्त्रीको उपचारको लागि कक्ष निर्माण गरिएको छ ।

उक्त कक्षमा अक्सिजन पाईप, वेड, इसीजी लगायतको सुविधान राखिएको छ। सोही कक्षमा मिर्गौलाको डायलासिस पनि गर्न मिल्नेगरी मेसिनहरु जडान गर्ने तयारी छ। प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गराउने तयारी भएपनि त्यो अघि बालुवाटारमै डायलासिस गर्न मिल्ने गरी उक्त कक्षा निर्माण कार्य भैरहेको हो।