दुई सन्तानको हत्यापछि भारतमा एक व्यक्तिले पत्नीसहित गरे आत्महत्या

Newslaya Home

दुई सन्तानको हत्यापछि भारतमा एक व्यक्तिले पत्नीसहित गरे आत्महत्या

मङ्गलबार १७, मङि्सर २०७६

नयाँ दिल्ली । भारतको गाजियावादको इन्दिरापुरममा एक पुरुषले दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् ।

इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइएको छ । घटनास्थलमै ती पुरुष र उनकी एक पत्नीको मृत्यु भएको थियो भने घाइते अवस्थामा उद्धार गरिएकी अर्की पत्नीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

मंगलबार बिहान भएको उक्त हत्या र आत्महत्याको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक पुरुषको नाम गुलशन हो भने मृतक दुई महिला उनका पत्नी परविन र सञ्जना रहेको बताइएको छ । मृतक दुई सन्तानमा रितिक र रितिका छन् । उनीहरु बस्दै आएको फ्ल्याटमा एउटा खरायो पनि मृत फेला परेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले उक्त फ्ल्याटमा सुइसाइड नोटका साथ ५०० रुपैयाँ पनि फेला पारेको थियो । कोठाको भित्तामा केही ‘बाउन्स चेक’ पनि टाँसिएको थियो । दम्पतीले आफ्ना केही छिमेकीमाथि आरोपसमेत लगाएको बताइएको छ ।

प्रहरीले आर्थिक संकटका कारण उक्त परिवारले यस्तो कदम उठाएको आशंका गरेको छ ।