जब धरान ७ का उम्मेदवारले लगाइसकेको माला खोले

Newslaya Home

जब धरान ७ का उम्मेदवारले लगाइसकेको माला खोले

सोमबार १६, मङि्सर २०७६

धरान । धरानको वडा नं. ७ को मतगणना अन्तीम चरणमा थियो । नेकपा र नेपाली काँग्रेसका उम्मेदवारहरु दुवैको भोटमा प्रतिष्पर्धा थियो ।

यता नगरमा काँग्रेसका मेयर उम्मेदवारले ठूलो मतान्तर कायम गरेका थिए । जित लगभग सुनिश्चित भइसकेको अवस्थामा वडामा पनि जित्नेमा नेपाली काँग्रेस विश्वस्त भयो ।

अन्तीम मत परिणाम नआइपुग्दै काँग्रेसका सुवर्ण पालिखेले अबिर र माला लगाउन भ्याए । तर एक मतले उनले हारे । धरान उपहानगरपालिका – ७ को उपचुनावमा यस्तो भएको हो ।

वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नुपर्‍यो ।

विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । यसअघि बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए ।

कांग्रेसले परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेको छ ।