उदयपुर अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

Newslaya Home

उदयपुर अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

सोमबार १६, मङि्सर २०७६

उदयपुर । उदयपुरको जिल्ला अस्पतालमा श्रीमतीको प्रसूति उपचार गर्न आएका पति बेपत्ता भएका छन् ।

आइतबार बिहान २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गराइ श्रीमान प्रेम बुढाथोकी बेपत्ता भएका हुन् ।

श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी श्रीमतीको मृत्यु भैसक्दा पनि उपस्थित नभएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विजय मेहताले जानकारी दिए ।

मृतक सुष्मा खोटाङ जिल्ला मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुल्न आएको छ । अन्य आफन्त बुझ्नका लागि प्रहरी र अस्पतालका सबै कर्मचारी लागि परेको बताइएको छ ।

भागी बिहे गरेर त्रियुगा नगरपालिका–१२ डिएमगेटको एक घरमा श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको गाईघाट डिएम गेटका कृष्ण राईले बताए ।