धरानमा काँग्रेस ऐतिहासिक जितको संघारमा, कसरी भत्कियो लालकिल्ला ?

Newslaya Home

धरानमा काँग्रेस ऐतिहासिक जितको संघारमा, कसरी भत्कियो लालकिल्ला ?

सोमबार १६, मङि्सर २०७६

धरान । धरानमा भएको उपनिर्वाचनको अन्तीम परिणाम आइसकेको छैन । तर २० मध्ये दुई वटा वडा गन्न बाँकी रहँदासम्म नेपाली काँग्रेस १५०० बढी मतान्तरले अगाडी छ ।

यसरी हेर्दा पहिलो पटक धरानबाट नेपाली काँग्रेसले कुनै चुनाव जितेर इतिहास रच्ने लगभग पक्का देखिएको छ ।

चुनावको दिनसम्म पनि नेकपाले थोरै मतले भएपनि चुनाव जित्ने आँकलन गरिएको थियो । तर झण्डै ६० प्रतिशत मत खसेको धरानमा नेकपा पराजयको संघारमा छ । एमाले एक्लैले मेयरको चुनाव जितेको यो ठाउँमा माओवादीसमेत मिसिँदाको नेकपाले चुनाव हार्ने परिस्थिती बन्नुका पछि धेरै कारणहरु छन् ।

नेकपाको असक्षम जिल्ला तथा केन्द्रिय नेतृत्व, कमजोर कार्यकर्ता परिचालन, धरान उपमहानगरपालिको नेतृत्वमा रहँदाको अप्रभावकारी काम, करको कहर, सुकुम्बासीका समस्यालाई वेवास्ता जस्ता कारणहरु नेकपाको पराजयको कारण बनेको छ । धरानको चुनावमा पार्टीको जिल्ला नेतृत्वले भुमिका नदिएको भन्दै प्रदेश सांसदहरु नै असन्तुष्ट थिए । त्यसैले नेकपाको संगठन परिचालन इतिहासमै सर्वाधिक कमजोर देखियो यो पटक ।

त्यस्तै धरान उपमहानगरपालिकाको नेतृत्व पाएपछि नेकपाले प्रभावकारी काम गर्न सकेन । आएका विवाद र हल्लालाई पनि सही तरिकाले चिर्न सकेन । जनताको चासोको विषय रहेको करको दर घटाउन सकेन भने सुकुम्बासीका समस्यामा ठोस नीति लिन सकेन ।

चुनावलाई लिएर नेकपा सिरियस देखिएन । न उपनिर्वाचन सोचेर काम गर्यो, न त उपनिर्वाचनको तयारी नै राम्रो गर्यो ।

काँग्रेसले सबै मतदातालाई महत्व दिएर मतदान केन्द्रसम्म पुर्यायो । नेकपाले वास्तै गरेन ।

धरानको चुनावमा मुख्य भुमिका खेल्ने सुकुम्बासीहरुलाई नेपाली काँग्रेसले चुनावको तयारीका समयमा मुख्य प्राथमिकता दियो । सुकुम्बासीहरुलाई फकाउन सकेकैले काँग्रेस जितको संघारमा छ । किनकी शहरी क्षेत्रबाट त यो पटक भोट नै कम खस्यो ।

यस्तै नेकपाकै एउटा गुटले नेकपाका उम्मेदवारलाई भोट दिएन । आन्तरिक प्रतिष्पर्धामा मात्र देखिनुपर्ने गुट विवाद विपक्षीसँगको प्रतिष्पर्धामा देखिनु पनि नेकपाको हारको अर्को कारक बन्यो । जबकी काँग्रेस सबै गुटलाई आन्तरिक प्रतिष्पर्धाको लागि थाँती राखेर अघि बढ्यो ।

नेपाली काँग्रेसले यो चुनावका लागि दिलोज्यान दिएको थियो । सारा पार्टी धरानको तयारीका लागि रणनीति बनाउने र कार्यकर्ता परिचालन गर्ने काममा सक्रिय बनेका थिए । त्यसैले राष्ट्रिय राजनीति जस्तो भएपनि धरान भने नेकपाको पकडबाट फुत्किँदै गएको थियो ।

यस बिचमा काँग्रेसले अन्य पार्टीसँग भित्रभित्रै साँठगाँठ गरेर तालमेल गरेको हल्ला नचलेको होइन । इटहरीकै चुनावमा पनि राप्रपाको भोट बैंक किनेको आरोप काँग्रेसलाई लागेको थियो ।

इटहरीमा मेयर, उपमेयरको चुनाव जित्न सकेन, अलग कुरा हो, तर धेरै मतले तात्कालिन एमालेलाई जित्न पनि दिएन । धेरै वडाको नेतृत्वमा जित दर्ता गर्यो ।

धरानमा पनि नेकपाको कमजोरीलाई टेकेर काँग्रेसले लालकिल्ला भत्कायो । वास्तवमै नेकपा 'उन्मादले हार्यो', काँग्रेस 'इखले जित्यो' ।