सिके राउतको पार्टीलाई जम्मा तीन मत

Newslaya Home

सिके राउतको पार्टीलाई जम्मा तीन मत

आइतबार १५, मङि्सर २०७६

वीरगञ्ज । बाराको बारागढी गाउँपालिका वडा –१ को वडाध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार सुरेश प्रसाद चौधरी विजयी भएको छन् । चौधरीले ७ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टीका शंकर चौधरीले ६ सय ७२ मत ल्याएका छन । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार तस्बिरिया थरुनीले ४ सय ७१ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार बैजनाथ प्रसाद चैधरीले जम्मा २४ मत ल्याएका छन । यसअघि २०७४ सालको चुनावमा उक्त वडामा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका तर्फबाट नन्द लाल राय थारु ४ सय ३३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मृत्यु पश्चात उक्त वडामा उप निर्वाचन भएको हो ।

बारागढी गाउँपलिका–१ को वडाध्यक्षमा उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार नरेश पासवानले शून्य मत प्राप्त गरेका छन् । कुल २ हजार तीन सय ६६ मतदाता रहेकोमा शनिबार भएको मतदानमा १ हजार ९ सय ५६ मत खसेको थियो । यस्तै सोही वडामा सिके राउतको पार्टीका उम्मेदवारले जम्मा ३ मत मात्रै प्राप्त गरेका छन् ।

राउतको जनमत पार्टीबाट वडाध्यक्षका उम्मेदवार रहेका शंकर प्रसाद चौधरीले जम्मा ३ मत मात्र प्राप्त गरेका हुन् ।