पाँचथरमा उपनिर्वाचनको मतगणना सम्पन्न, कांग्रेस र नेकपाको एक–एक स्थानमा जित

Newslaya Home

पाँचथरमा उपनिर्वाचनको मतगणना सम्पन्न, कांग्रेस र नेकपाको एक–एक स्थानमा जित

आइतबार १५, मङि्सर २०७६

पाँचथर । पाँचथरको फिदिम–१ र हिलिहाङ–७ को वडाध्यक्ष पदका लागि मत गणना सम्पन्न भएको छ ।

शनिबार भएको उपचुनावमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका हुन् ।

कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी भएको हो । नेपाली कांग्रेसका उम्मेदवार सुबराज थापाले ९ सय ७२ मत प्राप्त गरेका थिए ।

उक्त वडामा नेपाली कांग्रेसबाट निर्वाचित हर्कबहादुर मोत्तानको निधनपछि उपचुनाव भएको थियो ।
त्यस्तै हिलिहाङ गाउँपालिका–७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी भएका छन् ।

उक्त वडामा तत्कालीन नेकपा एमालेकोतर्फबाट निर्वाचित वडाध्यक्ष तिर्थ तिमल्सिनाको निधनपछि उपचुनाव भएको थियो ।
कुल २ हजार ६ सय मतदाता रहेको वडामा १ हजार ६ सय ९३ मत खसेको थियो । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।