इटहरीमा पहिलो पटक विदेशी कलाकारहरुले देखाए नाटक

Newslaya Home

इटहरीमा पहिलो पटक विदेशी कलाकारहरुले देखाए नाटक

शनिबार १४, मङि्सर २०७६

इटहरी । इटहरीमा पहिलो पटक विदेशी कलाकारहरुले नाटक देखाएका छन् । शुक्रबारदेखि सुरु भएको ‘अन्तरदेशीय साझा रङमञ्च २०१९’मा भारतका कलाकारहरुको समुहले नाटक देखाएको हो । यसअघि इटहरीको रंगमञ्चमा विदेशी नाटक प्रस्तुत भएको थिएन ।

समुन्द्र मन्थन नामक नाटकलाई भारतको पश्चिम बंगालबाट कृष्णनगर सिंचन नाट्य समुहका कलाकारहरुले प्रस्तुत गरेका हुन् ।

कलालय इटहरीले आयोजना गरेको कार्यक्रमको पहिलो दिन प्रस्तुत उक्त नाटक इटहरीका कलाप्रेमी, विद्यार्थी, पत्रकारलगायतले हेरेका थिए । उनीहरुले नाटकले इटहरीको परिचयलाई नेपालबाहिर पनि स्थापित गर्ने कामको सुरुवात गरेको प्रतिक्रिया दिए । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले यो इटहरीको नाटकको लागि नयाँ अध्यायको सुरुवात भएको बताए ।

कार्यक्रममा इटहरीका कलाकार, साहित्यकार, वुद्दिजीविहरुले भारतका कलाकारहरुसँग अन्तक्र्रियासमेत गरेका थिए ।

१८ गतेसम्म चल्ने रंगमन्चमा शनिबारदेखि भने द टेल टेल हर्ट नामक कथामा आधारित नाटक कलालय इटहरीका युवा कलाकारहरुले प्रस्तुत गरेकाछन् । प्रत्येक साँझ ४ बजे देखाइने नाटकको निर्देशन प्रज्वल पराजुलीले गरेका छन् भने नाट्य रुपान्तरण सुगम दुलालले गरेका हुन् । सह–निर्देशन अनुजा पौडेलले गरेकी छन् ।

नाटक इटहरी–६ स्थित तायारिप्ची भवनमा आयोजना हुनेछ ।